कमल थापाले पार्टी छोडे पनि असर पर्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडेपनि केही असर नपर्ने बताएका छन् । बुधवार न्यूज एजेन्सी नेपालसँग अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि पार्टीको आगामी जिवनमा केही फरक नपर्ने बताए ।
राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडी बढ्ने उनले स्पष्ट पारे । अध्यक्ष लिङ्देनले भने, ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै तर यो राप्रपाको जिवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जिवनमा अगाडी बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडी बढ्छौँ ।’
उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आव्हान गरे । पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडी बढ्ने उनले बताए । उनले भने, ‘हामीले सबै साथीहरुलाई आव्हान पनि गरेका छौँ । र मलाई के विश्वास छ भने यो छोड्ने क्रममा पार्टीका महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरु गर्नु हुनेछैन ।’
अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुर्नविचार गर्न आग्रह समेत गरे । थापाको निर्णयले उनकै राजनीतिक भविष्य समेत नरहेको भन्दै उनले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरे । उनले भने, ‘हामीले औपचारिक रुपमै भनेका छौँ यो निर्णयबाट हामी दुखित छौँ । यो निर्णय सच्याउन, यो निर्णयमा पुर्नविचार गर्न आग्रह गर्छौ भनेर भनेका छौँ ।’
निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा थापाले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा लिएको उल्लेख बताए । उनले भने, ‘हाम्रो उपाध्यक्ष बुद्धिमान तामाङले उहाँलाई बिहान त्यस विषयमा जानकारी पनि गराइसक्नुभएको थियो । संकेत दिइसक्नु भएको थियो । हामीले यो ढंगले यो समस्यालाई सम्बोधन गर्न लागेका छौँ भनेर सन्देश पनि दिइसकेपछि उहाँले जुन अप्रत्याशित यो निर्णय लिनुभयो हामी आफैँ अचम्मित छौँ ।’

प्रतिक्रिया