शेखरले प्रचण्डलाई भने- चुनावी गठबन्धन नगरौं, एमसीसी संसद्मा टेबुल गरौं

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चुनावी गठबन्धन नहुने बताएका छन् । प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा कोइरालाले गठबन्धन कांग्रेसको लागि फलदायी नहुने बताएका हुन् ।
पछिल्लो समय सत्ता गठबन्धन स्थानीय तहको चुनावमा गठबन्धन गरेर् जाने वा नजाने भन्नेमा खुलस्त भइसकेको छैन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको ग्रीन सिंग्नल पर्खिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रचण्डलाई शेखरको भनाईले झड्का लागेको छ । कांग्रेसमा शेखर पक्ष गठबन्धन गर्न नहुने पक्षमा खुलेको छ ।
कोइरालाले कम्युनिष्टले कांग्रेसलाई भोट दिने विश्वास आफूलाई नभएको स्पष्ट पारेका छन् । समसामयिक राजनीतिक विषयमा झण्डै १ घण्टा छलफल गरेका दाहाल र कोइरालाबीच गठबन्धन, चुनावी तालमेल, एमसीसीलगायतका विषयमा छलफल भएको थियो । शेखरले प्रचण्डलाई भने, ‘चुनावी गठबन्धनले हामी कसैको हित हुँदैन ।’
भेटमा प्रचण्डले भने तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्य हुनु उपयुक्त हुने प्रस्ताव गरे । नेता कोइरालाले भने कांग्रेसका अधिकांश नेता कार्यकर्ता चुनावी तालमेलको पक्षमा नरहेको भन्दै राजनीतिक सहकार्य र चुनावी गठबन्धन फरक कुरा भएको बताए ।
बैठकमा एमसीसीबारे पनि छलफल भएको थियो । कोइरालाले सभामुखले संसद् सुचारु गरेर एमसीसी टेबुल गर्नु उपयुक्त हुने बताएका थिए । प्रचण्डले एमसीसीका कारण राजनीति गिजोलिँदै गएको चिन्ता व्यक्त गर्दै संवादबाटै टुंगोमा पुग्ने बताए ।
कांग्रेस नेता कोइरालाले पछिल्लो समय आफ्नो राजनीतिक भेटघाट तीव्र पारेका छन् । कोइरालाले हालै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने गठबन्धन गर्नुपर्ने पक्षमा देखिएका छन् ।

प्रतिक्रिया