प्रचण्ड-माधवलाई देउवाले भने- मलाई गठबन्धनभन्दा एमसीसी नै प्यारो

काठमाडौं । सत्ता गठबन्धन दलका प्रमुख तीन नेता छलफल जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालसँग एमसीसी सम्झौता अनुमोदनबारे छलफल गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने बताएका थिए । देउवाले गठबन्धन तोडिए पनि आफू एमसीसीबाट ‘ब्याक’ नहुने स्पष्ट पारे । देउवाले एमसीसी पास गरेर छाड्ने बताए । उनले सहयोग गर्नको लागि दुवै नेतालाई अनुरोधसमेत गरे ।
प्रचण्ड र नेपालले भने एमसीसीबारे जनस्तरबाट उठेका सवालहरूको सम्बोधन गरिनुपर्नेमा जोड दिए । उनीहरूले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिए । प्रधानमन्त्री देउवाले भने फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्ने विषय आफ्नो प्राथमिकता रहेको बताए । बालुवाटार स्रोतका अनुसार देउवाले संसदमा एमसीसी टेबुल गरिनुपर्ने र सबै दलले आफ्नो धारणा त्यही राख्नुपर्ने स्पष्ट पारे ।
भेटमा स्थानीय निर्वाचनलगायत विषयमा पनि छलफल भएको बताइन्छ । पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धन भत्किने संकेत देखिएको छ । एमसीसीका कारण प्रचण्ड र माधवसँग देउवा रुष्ट बन्दै गएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबुल गर्न आनाकानी गरेको बारे पनि छलफल भएको छ ।
प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भएपनि माओवादी र समाजवादीले फरक मत राख्दै आइरहेका छन् । ती दुवै पार्टीमा एमसीसी अनुमोदन गर्न नहुने मत बलियो रहेको छ । अझ समाजवादीले एमसीसीविरुद्ध फागुन १ गतेबाट देशभर प्रदर्शन गर्ने बताइसकेको छ ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएको थियो । एमसीसीले प्रतिबद्धता अनुसार फेब्रुअरी २८ भित्र सम्झौता संसदबाट अनुमोदन गर्न आग्रह गर्दै पत्र पठाइसकेको छ । पत्र सार्वजनिक भएपछि प्रचण्ड देउवासँग रुष्ट छन् ।

प्रतिक्रिया