अब पूर्वाधार विकास बैंकले ११ प्रतिशत न्यूनतम पुँजीकोष कायम गर्नुपर्ने

काठमाडौं । पूर्वाधार विकास बैंकहरुले न्युनतम ११ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैँकले बिहिबार पुर्वाधार बिकास बैंकको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
पूर्वाधार विकास बैंकले कायम गर्नुपर्ने न्युनतम पुँजीकोष सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरेको राष्ट्र बैंकले भनेको छ । निर्देशन अनुसार संस्थाकोे न्युनतम चुक्ता पुँजी २० अर्ब हुनु पर्नेछ ।
पूर्वाधार विकास बैंकहरुले पुँजीकोष सम्बन्धी निर्देशनहरुको पालना नगरेमा शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ बमोजिमको कारवाही परिपत्रमा उल्लेख छ । राष्ट्र बैकका अनुसार पुँजीकोष भन्नाले प्राथमिक पुँजी र पुरक पुँजीको योग सम्झनु पर्दछ । संस्थाले जुनसुकै बखत पनि तोकिएको अनुपातमा न्युनतम पुँजीकोष कायम गर्नु पर्नेछ ।
निर्देशन अनुसार पुँजीकोष सम्बन्धी विवरणहरु तयार गरी राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा बैंक सुपरिवेक्षण विभागमा प्रत्येक महिना समाप्त भएको मितिले १५ दिन भित्र पठाई सक्नु पर्नेछ । तर, त्रयमास अन्त्यको विवरण भने आन्तरिक लेखापरीक्षकबाट प्रमाणित गराएर पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया