कांग्रेस एमसीसी पास गर्न एकढिक्का छ : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेस भए बहुमतका साथ पारित हुने दाबी गरेका छन् । बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि प्रवक्ता महतले स्थानीय निर्वाचनको बारेमा छलफल भएको बताए ।
प्रवक्ता महतले बैठकमा वक्ताहरुले बोल्ने क्रम नसकिएकाले भोलि पनि छलफल हुने बताए । बैठकमा स्थानीय तहको निर्वाचन, भ्रातृसंगठनहरुको समयसीमा र एमसीसीको विषयमा चर्चा गरिएको उनले बताए । बैठकमा वक्ताहरुले एमसीसीलाई कसरी चाँडै निस्कर्षमा पुर्याएर टुंग्याउने कुरामा बिस्तृत छलफल भएको बताए ।
एमसीसी संसदमा लैजान नहुने कुनै कारण नरहेको भन्दै चाँडै यस विषयको निस्कर्षमा पुग्ने उनले स्पष्ट पारे । उनले भने, ‘ एमसीसी संसदबाट नै टुंग्याउन उपयुक्त हुन्छ, संसदमा एमसीसीको विषयले प्रवेश नपाउने कुनै कारण छैन, सदनमा प्रवेश पाएपछि ठूलो बहुमतकासाथ पारित हुन्छ ।’
उनले एमसीसीलाई अगाडि बढाउन नेपाली कांग्रेसमा कुनै समस्या नभएको स्पष्ट पारे । उनले भने, ‘संसदमार्फत अघि बढाउनु पर्छ भन्ने कुरामा पनि पार्टीमा कुनै दुईमत छैन । साथीहरुले यो प्रक्रिया अघि बढाउने र अरु दलहरुको सहमतिमा लाग्ने कुराहरु नै गर्नुभएको छ ।’

प्रतिक्रिया