प्रतिनिधिसभा बैठक सार्न सभामुखलाई एमालेको आग्रह, एमसीसी अन्योलमा

नेपालखोज २०७८ माघ २७ गते २०:१०

काठमाडौं । प्रतिनिधिसभा बैठक हेरफेर गर्नका लागि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । फागुन २ गतेका लागि बोलाइएको बैठकको समय सार्न एमालेले सभामुखलाई आग्रह गरेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सो दिन एमालेको विराटनगरमा प्रदेश नं १ स्तरीय भेलाको कार्यक्रम भएकाले बैठक सार्न भनिएको हो । सो मिति भन्दा अगाडि वा पछाडि बैठक बोलाउन आग्रह समेत एमालेले गरेको उनले बताए ।

प्रतिनिधि सभाको बैठक बसेको बेला पनि एमालेले लगातार अवरोध गर्दैै आएको छ । झन्डै २ महिनादेखि संसद बैठक पटक पटक सर्दै आएको छ । यसअघि माघ १६ र माघ २६ गते बस्ने भनेको बैठकको मिति पनि सारिएको थियो ।

एमालेले सभामुख सापकोटाको राजीनामा वा १४ सांसद्लाई कारबाही माग गर्दै बैठक अवरोध गर्दै आएको छ । एमालेले बैठक अवरोध गरेर रेकर्ड बनाएको छ । इतिहासमा सबैभन्दा लामो समयसम्म बैठक अवरोध गर्नेमा एमालेले आफ्नै रेकर्ड तोडेको हो ।

सरकारले भने अब बस्ने बैठकमा एमसीसी टेबुल गरिनुपर्ने माग राख्दै आएको छ । सरकारका मन्त्रीले सभामुखलाई भेटेर र फोन सम्पर्कबाट समेत एमसीसी टेबुल गर्न आग्रह गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई टेबुल गर्न लागि परेका छन् ।

प्रतिक्रिया