तापक्रम बढ्न थाल्यो !

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली छ । तराइका केही भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर काठमाडौंसहित देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ । पानी पार्ने प्रणाली बाहिरिन सुरु भएसँगै तापक्रम बढ्न थालेको जनाइएको छ । दिउँसो पारिलो घाम लाग्ने गरेकाले तातो महसुस हुन थालेको छ ।
काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम छ र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । शनिबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया