ओलीले प्रचण्डलाई भने- आफूले निर्णय गर्नुस्, एमाले त निर्णय गरिहाल्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन् । बिहीबार साँझ टेलिफोनमा प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको बिषयमा एमालेको स्पष्ट धारणा माग गरेका छन् ।
ओलीलाई टेलिफोन गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका हुन् । नेकपा एमालेका अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई एमसीसीमा स्पष्ट हुन आग्रह गरेका छन् । उनले गठबन्धनको धारणा आएपछि एमालेले निर्णय गर्ने स्पष्ट पारेका छन् । ओलीले भने, ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस, नेकपा एमाले त निर्णय गरिहाल्छ ।’ उपप्रमुख रिजालले अध्यक्षद्वयको संवाद उधृत गर्दै भने ।
ओलीले एमसीसी पास गर्न लिखित कागज नै गरको कुरा पनि उठाएको बताइएको छ । प्रचण्डले भने, ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’ उपप्रमुख रिजालले अध्यक्षद्वयको संवाद उधृत गर्दै भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई एमसीसी पास गर्नुपर्ने भनेर दबाब दिइरहेको समयमा प्रचण्डले ओलीको साथ खोजेका हुन् । माओवादी अप्ठ्यारोमा पर्न सक्ने देखेर ओलीको साथ प्रचण्डले खोजेका हुन् । माओवादी एमसीसीमा अझै स्पष्ट भइसकेको छैन् । संशोधनसहित एमसीसी अनुमोदन गर्नुपर्ने माओवादीले माग राखेपनि देउवाले संशोधन नहुने स्पष्ट पारिसकेका छन् ।
प्रचण्डले तीनै तहको चुनावपछि एमसीसी संसद्मा लैजानुपर्ने बताएपनि देउवाले चुनाव अगावै अनुमोदन गर्नुपर्ने अडान छाडेका छैनन् । देउवा जसरी पनि एमसीसी पास गरेर छाड्ने रणनीतिमा अगाडि बढेपछि प्रचण्ड अप्ठ्यारोमा परेका हुन् । माओवादीको शीर्ष नेता एमसीसी संसद्मा लैजान नहुने अडानमा छन् । प्रचण्डलाई देउवाको दबाब त छ नै यता पार्टीका नेताको दबाब पनि बढेपछि प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको साथ खाज्न थालेका छन् । उनले एमालेले स्पष्ट धारणा बनाए आफूलाई सजिलो हुने अनुमान लगाउन थालेका छन् ।

प्रतिक्रिया