मंगलबार, जेठ १, २०८१

नेपाललाई ओमानको १३६ रनको लक्ष्य, अभिनाशले लिए ३ विकेट

नेपालखोज २०७८ माघ २८ गते १७:३६

काठमाडौं । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले ओमानबाट एक सय ३६ रनको लक्ष्य पाएको छ । ओमानको अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।

सुरुवात राम्रो गर्न नसकेको ओमानले २४ रन हुँदा पहिलो विकेट गुमायो । ओपनर कश्यप प्रजापतीलाई ब्यक्तिगत ११ रनमा अभिनाश बोहराले बोल्ड गर्दै पेभेलियनको बाटो देखाए । त्यसलगत्तै जतिन्दर सिंहलाई आरिफ शेखले ब्यक्तिगत १३ रनमा विकेटकिपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदा ओमानको स्कोर २४ रन थियो ।

आयान खानलाई कमलसिंह ऐरीले ब्यक्तिगत ११ रनमा आउट गरे । जसका कारण ओमानले ४२ रनमा तेस्रो विकेट गुमायो । ओमानको स्कोर ५८ रन हुँदा चौथो विकेट पतन भयो । सोयब खानलाई सन्दीप लामिछानेले आशिफ शेखको हातबाट नै क्याच आउट गराए । सन्दीपको टी–ट्वान्टी अन्तराष्ट्रियमा ४८ औं विकेट थियो ।

त्यसपछि कप्तान जिसान मक्सुद र मोहम्मद नदिमले ओमानको पारिलाई सम्हालेका थिए । उनले पाँचौं विकेटका लागि ६१ रनको साझेदारी गरे । तर जिसान मक्सुद ३५ रनमा खेलिरहेका बेला अभिनाशको बलिङमा आरिफ शेखले क्याच मिस गरेका थिए । तर त्यसलगत्तै अभिनाशले नै नेपाललाई पाँचौं सफलता दिलाए । उनले मोहम्मद नदिमलाई ३१ रनमा शरद भेषवाकरको हातबाट क्याचआउट गराए । त्यो बेला ओमानको स्कोर एक सय १९ रन थियो । तर अर्को बलमा नसिम खुसीलाई खाता खोल्न नदिँदै शरदको हातबाट क्याच आउट गराए । जसका कारण ओमानले एक सय २० रनमा ६ विकेट गुमायो ।

बलिङमा कमलसिंह ऐरीले चार ओभरमा २५ रन खर्चिएर एक विकेट लिए भने आरिफ शेखले एक ओभरमा दुई रन खर्चिदै एक विकेट लिए । सन्दीपले तीन ओभरमा १७ रन दिएर एक विकेट लिए । नेपालका लागि अभिनास बाेहराले तीन विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिएर महत्वपुर्ण विकेट लिए । नेपालका लागि सागर ढकाल केहि महंगो सावित भए । उनले तीन ओभरमा ३६ रन खर्चिए ।

प्रतिक्रिया