मंगलबार, वैशाख २५, २०८१

संगीतशिरोमणिको यो तस्बिर !

दिनेश अधिकारी २०७८ माघ २९ गते १०:४१

पछिल्लो समयको कुरा अहिले नगरौं । पुरानो नेपालमा केही ‘शिरोमणि’ हरु रहे । यीमध्ये कविशिरोमणि लेखनाथ पौड्याल र इतिहासशिरोमणि बाबुराम आचार्यको नाम प्राय: हामी सबैले सुनेका छौं । यिनै ‘शिरोमणि’ हरुमध्ये अर्का हुनुहुन्छ- संगीतशिरोमणि यज्ञराज शर्मा अर्ज्याल । राजा महेन्द्रबाट वि.सं. २०१३ सालमा उहाँले यो उपाधि पाउनुभएको थियो । वि.सं. १९५९ मा जन्मनुभएका उहाँको निधन २०४६ सालमा भएको हो ।

हामी भर्खर-भर्खरै साहित्यमा सक्रिय हुँदै थियौं । दिनेश सत्याल, अविनाथ राई, जीवन आचार्य र मसमेतका केही साथी मिलेर ‘युवा साहित्यिक समाज’ नामको एउटा साहित्यिक संस्था (जुन औपचारिक रुपमा कहीं दर्ता थिएन र पनि यसको नामबाट हामीले पूर्वार्द्ध नामको गोजीका अर्थात् गोजीमा राख्न मिल्ने पत्रिका निकाल्थ्यौं) स्थापना गरेका थियौं । यही युवा साहित्यिक समाजले २३ असार, २०३७ का दिन आयोजना गरेको एउटा कार्यक्रममा हामीले प्रमुख अतिथिको हैसियतमा निम्त्याएका थियौं- संगीतशिरोमणि यज्ञराज शर्मा अर्ज्याललाई ।

No description available.

यो, तस्बिर त्यही कार्यक्रमको उपज हो । बीचमा टोपी लगाएर संगीतशिरोमणि बस्नुभएको छ भने चस्मा लगाएर दिनेश सत्याल (हाल सौरभ उपनामबाट विशेष परिचित ) उहाँसँगै उभिनु भएको छ र पोडियममा उभिएको चाहिँ म दिनेश अधिकारी आफैं हुँ ।

प्रतिक्रिया