आइतबार, वैशाख १४, २०८२

रानीपोखरी !

सुनील उलक २०७८ माघ २९ गते ९:५७

राजा प्रताप मल्लले एक संन्यासीको सल्लाहमा आफ्नो जीवनकालमै आफ्ना चार छोरालाई पालोपालो राजा बनाउन थालेका थिए । तीन छोराले तीन वर्ष राज्य चलाएपछि रानीको प्यारो कान्छो छोरा चक्रवर्तिन्द्रलाई राजा बनाए । तर दुर्भाग्य राजा भएको रातमै उनको मृत्यु भयो । छोराको मृत्युले दुखित भएका राजारानीले तिनै संन्यासीको सल्लाहमा पोखरी बनाउन लगाए । वि.सं. १७२७ कात्तिक १७ गते थालनी गरेको पाँच वर्षपछि पोखरीको निर्माण सम्पन्न भयो । पोखरी तयार भएपछि नेपाल तथा भारतको ५१ वटा मुख्य मुख्य तीर्थस्थलको जल ल्याएर पोखरीमा पानी भरियो । प्रताप मल्लले एक वर्ष लगाएर तीर्थाटन जाँदाको सम्पूर्ण विवरण लेखेर ठ्यासफु तयार पारेका थिए । यस पोखरीलाई जनताले न्हु: पुखु भन्न थाले ।

यसरी प्रताप मल्लले आफ्ना छोराको यादमा बनाएको पवित्र जल भरिएको पोखरी समयकालसँगै हेरचाहबिना दुर्गन्धित बन्न थालेपछि प्रताप मल्लका नातिनी बुहारी (भूपालेन्द्र मल्लकी रानी) भुवनलक्ष्मीले सरसफाइ गराइ पुन: वाग्मतीको सफा पानी भर्न लगाइ जीर्णोद्वार गरेपछि उनकै नामबाट रानी पुखु भन्न थाले । जुन नाम हालसम्म पनि सबैको मुखमा झुन्डिएको छ ।

No description available.

यसको १७४ वर्षपछि वि.सं. १९०१ माघ २७ गते जर्मनका राजकुमार वाल्डरमरले सुगौली हुँदै नेपाल प्रवेश गरेका थिए । हेटौंडामा उनलाई प्रधानमन्त्रीको भाञ्जा दिलविक्रम थापाले भव्य स्वागत गरेपछि चारवटा ठूला-ठूला हात्तीमा सवार गराएर चुरिया, भीमफेदी, चित्लाङ, चन्द्रागिरि हुँदै थानकोट पुगेका थिए । थानकोटमा ब्रिटिस सरकारका दूत मेजर लारेन्सले स्वागत गरेका थिए । माघ २९ मा काठमाडौं पुग्दा प्रधानमन्त्री माथवरसिंह थापा तथा जंगबहादुरले राजकुमारको स्वागत गरेका थिए । काठमाडौं भ्रमणका क्रममा भक्तपुर, पाटनको साथै नुवाकोट पनि पुगेका थिए । करिब एक महिनाको भ्रमणपछि राजकुमारको टोली सोही बाटो भारत फर्किए । यसरी राजकुमारको भ्रमण साथ आएका चित्रकारले काठमाडौंका विभिन्न स्थानका चित्रहरु बनाएका थिए । जसमध्य हाल सो समयको रानीपोखरीको चित्रले विशेष महत्त्व राखेको छ ।

No description available.

राजकुमारको भ्रमणको साथ डाक्टरका रूपमा यात्रामा साथ दिएका डा. वर्नर हफमेस्टरले सम्पूर्ण यात्रा विवरणको पुस्तक ‘DIE BOTANISCHEN ERGEBNISSE’ नामक पुस्तक तयार गर्दै भ्रमण गर्ने क्रममा भारत पन्जाब पुगेपछि पन्जाबका राजा रणजित सिंहको सैनिकले चलाएको गोलीबाट वि.सं. १९०२ पुस ७ गते सदाका लागि यो संसारबाट बिदा लिएको लेखिएको छ ।

No description available.

राजकुमारको भ्रमण समाप्त गरेर फर्केको तीन महिनापछि मामा माथवरसिंहको हत्या गरेर जंगबहादुर सत्तामा पुग्न सफल भए । यसरी राजकुमारको भ्रमण समयमा यमलेश्वर महादेवको मन्दिर शिखरशैलीमा बनाइएको देख्न सकिन्छ । तर जंगबहादुरको बेलायत भ्रमणबाट फर्केर आएपछि बेलायती शैली तथा तथा मुगलशैलीमा नेपालमा भवन तथा मन्दिरहरूको परिवर्तित गर्ने क्रममा जंगबहादुरले यमलेश्वर मन्दिरलाई मुगलशैलीमा परिवर्तित गराए ।

No description available.

बि.सं. १९९० को भूकम्पपछि बीचको मन्दिर तथा पोखरीको मर्मत गरेपछि जुद्धशमशेरले चारैतिर फलामेबार लगाउन लगाए । बार लगाउनुको दुई कारण औंल्याउछन् इतिहासकारहरू पहिलो रानीपोखरीमा हामफालेर आत्महत्या गर्नेको संख्या बढ्दै जानु भने अर्को (नहुन पनि सक्छ) जुद्धशमशेरले आफ्नो छोरा बहादुरशमशेरका लागि बनाइएको बहादुर भवनमा नेपालमै पहिलोपटक बनाइएको आधुनिक शौचालयको मलमूत्रको निकास रानीपोखरीमा मिसाइएकाले दुर्गन्धित हुन थालेपछि जुद्धशमशेरले फलामे बार लगाउन लगाएका थिए भनिन्छ । यसरी हिन्दु आस्थामा आँच आउने काम भएपछि हिन्दुवादीहरूले प्रजा परिषद् गठन गरी राजनीतीकरण गराएका थिए । पछि वि.सं. २०१३ मा राजा महेन्द्रले रानीपोखरी तथा मन्दिरको मर्मत गराएका थिए ।

प्रतिक्रिया