बिहीबार, जेठ ३, २०८१

क्यानाडाका हिन्दु मन्दिरहरुमा चोरी तथा तोडफोड

नेपालखोज २०७८ माघ २९ गते ७:२४

टोरन्टो, क्यानाडा । क्यानाडाका हिन्दु मन्दिरहरुमा चोरी तथा तोडफोडका घटना बढेका छन् । बितेका दुई-तीन महिनाको बीचमा ग्रेटर टोरन्टो इलाकामा मात्र ६ वटा हिन्दु मन्दिरमा चोरी तथा तोडफोडको घटना भएको समाचारमा जनाइएको छ ।

हिन्दु मन्दिरहरुमा भइरहेका यस्ता घटनाका कारण क्यानाडामा भएका हिन्दुहरु चिन्तित र रुष्ट भएको बताइएको छ । समाचारअनुसार त्यहाँका हिन्दु संगठनहरुले सरकारसँग दोषीहरुविरुद्ध कारबाहीको मागसमेत गरेका छन् ।

समाचार अनुसार बितेका केही महिनाबीच भएका यस्ता पाँचवटा घटना ग्रेटर टोरन्टो इलाकाको पिल क्षेत्रमा भएको थियो । अर्को एउटा घटना ह्यामिल्टन मा दर्ता गरिएको थियो । यी सबै घटनामा दानपात्रलाई प्रमुख निशाना बनाइएको थियो । केही घटनामा देवी-देवताको मूर्तिका गहना पनि चोरिएको थियो । हिन्दु मन्दिरहरुमा चोरीको यो सिलसिला नोमेम्बर २०२१ मा सुरु भएको थियो । सबैभन्दा पहिले त्यहाँ ब्रम्प्टनस्थित हिन्दु सभा मन्दिर तथा जगन्नाथ मन्दिरमा चोरी भएको बताइन्छ ।

चोरीका यस्ता घटना जनवरी २०२२ मा थप बढेको तथा हिन्दु हेरिटेज सेन्टर, मिसिसागा, चितपूर्णी मन्दिर, गौरी-शंकर मन्दिर, ह्यामिल्टन मन्दिरहरुमा चोरी तथा तोडफोड भएको स्थानीय समाचार माध्यमहरुले जनाएका छन् । ती घटनाविरुद्धको उजुरीमा प्रहरीले छानबिन गरिरहेको बताइएको छ । यद्यपि अहिलेसम्म कसैको गिरफ्तारी भएको छैन । प्रहरीले हिन्दु मन्दिरवरिपरिको सुरक्षा र गस्ती पनि बढाएको छ ।

अहिलेसम्मका घटनाको प्रकृति हेर्दा यो हिन्दु समुदायविरुद्धको कारबाही भन्दा पनि धन-मालको चोरीको घटना नै जस्तो देखिएक‍ो छ । क्यानाडामा नेपालीहरुको उल्लेख्य बसोबास छ भने त्यहाँ भारतीय हिन्दुहरु प्रशस्तै छन् ।

प्रतिक्रिया