बिहीबार, जेठ ३, २०८१

वर्षको मध्यसम्म कोरोनाको तीव्र चरण समाप्त हुनसक्छ

नेपालखोज २०७८ माघ २९ गते २०:५९

केप टाउन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले संसारका ७० प्रतिशत मानिसलाई कोरोनाविरुद्धको खोप लगाउन सके यो अंग्रेजी वर्षको मध्यसम्ममा कोरोना महामारीको तीव्र चरण समाप्त हुनसक्ने बताएका छन् ।

टेड्रोस एडनोम घेबियसले दक्षिण अफ्रिका भ्रमणका क्रममा भनेका छन्, ‘हामीलाई आशा एवं विश्वास छ यो महामारीको तीव्र चरण यही वर्ष समाप्त हुनेछ । यद्यपि त्यसको सर्त के छ भने हामीले यो सालको मध्य अथवा जुन-जुलाईसम्ममा ७० प्रतिशत खोपको लक्ष्य हासिल गरिसक्नुपर्नेछ ।’

घेबियसका अनुसार, ‘यदि खोपको लक्ष्य हासिल गर्न सकियो भने कोरोनाको तीव्र चरण वास्तवमै समाप्त हुनेछ । यो कुरा सम्भव तुल्याउने पनि हाम्रै हातमा छ ।’

विश्व स्वास्थ्य संगठनका प्रमुख घेबियसले एफ्रिजेन बायोलोजिक्स एन्ड भ्याक्सिन्स (Afrigen Biologics and Vaccines) को एक कार्यक्रममा उक्त कुरा बताएका हुन जसले म‍ोडरेनाको अनुक्रम (Moderna’s sequence) उपयोग गरेर अफ्रिकामा पहिलोपटक एमआरएनए कोभिड भ्याक्सिन उत्पादन गरेको छ ।

यो भ्याक्सिन नोभेम्बरमा क्लिनिकल ट्रायलका लागि तयार हुनेछ भने यसले २०२४ सम्ममा मान्यता प्राप्त गर्ने अपेक्षा छ । एफ्रिजेनले डब्ल्यूएचओ तथा कोभ्याक्सको पहलद्वारा समर्थित पायलट प्रोजेक्टको नेतृत्व गरिरहेको छ । अहिलेसम्म अफ्रिकामा केवल ११ प्रतिशत मानिसले मात्र कोरोनाविरुद्धको खोप लगाउन पाएका छन् ।

यो संसारकै सबैभन्दा कम दर हो । गएको साता डब्ल्यूएचओको अफ्रिका कार्यालयले यो महाद्वीपमा ७० प्रतिशतको लक्ष्य हासिल गर्न खोपको अभियानलाई ‘६ गुणा’ बढाउनुपर्ने आवश्यकता औंल्याएको थियो ।

प्रतिक्रिया