शनिबार, जेठ ५, २०८१

कोभिड सल्लाह !

रवीन्द्र समीर २०७८ माघ २९ गते ११:५१

युद्धको मैदानमा उत्रिएपछि बुलेटप्रुफ ज्याकेट लगाए पनि गोली लाग्दोरहेछ । महामारीको २ वर्षपछि डा. शर्मालाई लक्षणयुक्त कोभिड देखियो । डा. शर्मा आफ्नै घरमा एकान्तबासमा बसे । आफू संक्रमित भएको लुकाउनु हुँदैन भनेर डा. शर्माले सामाजिक सन्जालमा आफ्नो स्वास्थ्य अवस्था राखे ।त्यसपछि पिँजडामा थुनेका चराहरु उडेजस्तै डा. शर्माको मोबाइलमा रिंगटोनको वर्षा भयो । शुभेच्छाप्रति डा. शर्मा हर्षविभोर भए ।

डा.शर्माका काकाले भने- ज्वानो, बेसार र गुर्जो पकाएर कुँडो पिएझैं पिउनु, ठीक हुन्छ ।
अर्का परिचितले भने- गुर्जो नखानु है, कलेजोमा असर गर्छ । अदुवा र मरिच खुब खानू !
अर्को आवाज आयो- चिन्ता गर्नु पर्दैन डा. साहेब ! लोकल कुखुराको झोल भुँडी फुटुन्जेल खानुहोला, सन्चो हुन्छ ।
एकजनाले भन्यो- दोस्रो लहरमा १४ जना डाक्टर मरे । अलि होस पुर्याउनुहोला है !
परिचित मित्रले फोन गरे- एन्टिबायोटिक, सिटामोल, कफ सिरप र भिटामिन खानुहोला, निको हुन्छ ।
अर्को परिचित व्यक्तिको फोन आयो- कोरोना भाइरस हो । एन्टिबायोटिक नखानुहोला है, इम्युनिटी पावर घट्छ । सिटामोलले कलेजो खराब गर्छ ।
टाढाबाट फोन आयो- खुकुरी रम वा झवाईखट्टेसँग बट्टाईको रस खानुहोला, कोरोना सोरोना भाग्छ ।
फेरी अर्को फोन आयो- डा. साहेब ! मेरो अस्पतालमा आउनुहोस् । एकहप्ता यतै बसौं, ढुक्क हुन्छ ।
अर्को फोन आयो- मासुमंस, दूध, दही केही नखानु है बाबु !
फोन काट्नेबित्तिकै अर्कोले भन्यो- घाममा बसेर दिनको डेढ किलो सुन्तला, बदाम, स्याउ, अनार खानुहोला । यो कोरोना सोरोना हैन, रुघामर्गी हो, बिसेक हुन्छ ।
डा. शर्माको मित्रको फोन आयो- हाम्री आमालाई ७ महिना गलाएको हो, जाइफल, हिंग, कस्तूरीको नाभी, यार्सागुम्बा र चिराइतोलाई पिसेर लेदो बनाएर स्याउको रक्सी मार्फासँग १ वर्ष खानुहोला, जीउ तंग्रिन्छ ।
डा. शर्मा पजल भए ।
उनले आफ्नी आमालाई सोधे- आमा ! मैले के खाने, के बार्ने ?
आमाले भनिन्- तिमी आफैं डाक्टर हौ ! के खाने, के नखाने तिमीलाई थाहा छँदै छ नि !
(यो काल्पनिक कथा हो ।)

प्रतिक्रिया