शुक्रबार, जेठ ४, २०८१

चोरहरुको सम्मानमा

खगेन्द्र खडका २०७८ जेठ ८ गते ८:२१

जब-जब म देख्छु
यो कर्मनाशा अनि तुलिगाँडे सरकार
र जब खुल्छ यसको मुखुण्डो
अनि देखिन्छ यसको पैशाचिक अवतार
गहिरो बिश्वास हुन्छ मलाइ कि-
यिनले एकपटक सास फेर्दा
मर्नेछ एउटा ‘जनता’ नाम गरेको मान्छे
यिनले सुसेला हाल्दा हुन्छ कुनै गाउँ नै सोत्तर
र यी हाँसे भने कदाचित्
रुवाउनेछन् देशैलाइ धुरुधुरु

हामी,
हिँड्दा-बस्दा, सुत्दा-उठ्ता, बाँच्दा-मर्दा
भतुवा कुकुरले झैं जताततै लातै-लात मात्र भेटेपछि
अभाव र कष्टको कालो कुवामा बलात् धकेलिनुपरेपछि
कुष्ठरोगीले झैं तिरस्कार र बेवास्ताको झरीमा
लगातार रुझ्नुपरेपछि,

मलाई अचानक श्रद्धा जाग्छ चोरहरुमाथि
कम्तीमा ऊ अँध्यारोको इन्तजार गर्छ
कोई नभएको मौका छोप्छ
र डर मान्छ कसैले थाहा पाउछन् कि भनेर,
यसरी ऊ अदब राख्छ समयको
अनि डर मान्छ कसै न कसैको

——————————————

यहीबेला, ठ्याक्कै यही बेला
घिन लाग्छ मलाई
आफैंले चुनेको सरकारको अनुहार सम्झेर
अनि चकित हुन्छु म
कसरी अचानक भारि हुन पुग्यो चोरहरुको पल्ला ?
कसरि शनै: शनै गिर्‍यो सरकार उनीहरुभन्दा तल ??
र श्रद्धेय अनि पूजनीय हुन पुगे चोरहरु पनि !

प्रतिक्रिया