बिहीबार, जेठ ३, २०८१

युक्रेनमाथि रुसी आक्रमण जुनसुकै बेला हुनसक्ने अमेरिकाको चेतावनी

नेपालखोज २०७८ माघ २९ गते १०:५९

काठमाडौं । कुनै पनि दिन युक्रेनमाथि रुसी आक्रमण हुनसक्ने अमेरिकाले चेतावनी दिएको छ । युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्नका लागि रुसी सैन्य बल तयार रहेको बुझिएको अमेरिकाले जनाएको छ । अमेरिकाले आफ्ना नागरिकहरूलाई ४८ घण्टा भित्रमा युक्रेन छाड्न आग्रह पनि गरिसकेको छ ।

हवाई बम आक्रमण सुरु हुनसक्ने हुँदा त्यहाँबाट निस्कन अप्ठ्यारो पर्न सक्ने र त्यसले सर्वसाधारणहरूलाई खतरामा पार्न सक्ने ह्वाइट हाउसले जनाएको छ । युक्रेनसँगको सीमा नजिकै एक लाख भन्दा बढी सेना तैनाथ गरिएको भए पनि रुसले आक्रमणको योजना अस्वीकार गर्दै आएको छ ।

यूके, क्यानडा, नेदरल्यान्ड्स, लाटभिया, जापान र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका छन् । रुसी विदेश मन्त्रालयले पश्चिमा राष्ट्रहरूलाई गलत सूचना फैलाएको आरोप लगाएको छ ।अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलेभनले रुसी सेनाहरू अब ठूलो सैन्य कारबाही अघि बढाउन सक्षम रहने स्थितिमा रहेको बताएका छन्।

आफ्नो प्रशासनलाई आक्रमणबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम निर्णय गरे र नगरेको जानकारी नरहेको सलेभनले बताएका छन् । तर क्रेमलीनले सैन्य कारबाहीको औचित्य सिद्ध हुने बहाना खोजिरहेको हुँदा तीव्र हवाई बम आक्रमणबाट थप कारबाही सुरु हुनसक्ने उनको भनाइ छ ।

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले पनि युक्रेनमा रुसी आक्रमण जुनसुकै बेला सुरु हुनसक्ने बताएका थिए । अस्ट्रेलिया भ्रमणका क्रममा उनले सीमावर्ती क्षेत्रमा थप सैन्य अधिकारीहरू आएसँगै तनावका बढ्दो संकेतहरू अमेरिकाले देखेको बताएका छन् ।

रुसले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोसँग युक्रेनले कहिल्यै उक्त संगठनमा सामेल हुन नपाउने विषय सुनिश्चित गर्न माग गरेको छ । तनाव कम गर्नका लागि कूटनीतिक पहल जारी छ । बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन्। रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झन्डै आठ वर्षपछि तनाव पुनस् चर्केको हो ।

मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनस्र्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ । त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४,००० मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन्।

युक्रेनमा रुसी आक्रमण हुने सम्भावना भएपछि गत साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको थियो । अमेरिकी सैनिकहरूले युक्रेनमा लड्ने छैनन् तर अमेरिकी साझेदारको सुरक्षा गर्न काम गर्नेछन्।

उक्त अमेरिकी निर्णयलाई रुसले विनाशकारी कदम भनेको छ । विश्वका सबैभन्दा ठूला आणविक हतियार भएका रुस र अमेरिका बीचको शीतयुद्ध कालदेखि द्वन्द्व रहेको छ । युक्रेन कम्युनिस्ट सोभियत सङ्घको महत्त्वपूर्ण हिस्सा रहेको थियो।

प्रतिक्रिया