गठबन्धन कायमै रहन्छ : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दावी गरेका छन् । सत्तारुढ माओवादी केन्द्रका नेता समेत भएका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको बताए । काठमाडौंमा आज आयोजित साक्षात्कार कार्यक्रममा पौडेलले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेबित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताए ।
मन्त्री पौडेलले भने, ‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन कम्प्लेट गर्छ । गठबन्धनले एक वर्ष भित्रमा सबै चुनाव गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीयसरकार निर्वाचनको प्रक्रियाबाट सकुशल निर्वाचन गर्न गठबन्धनले आफ्नो कार्यसूचि अघि बढाएको छ । स्थानीय तहको निर्वाचन एकैपटक गर्ने घोषणा गरेको छ । सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा संघ र प्रदेशको निर्वाचनको मिति स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै घोषणा हुन्छ । हाम्रो पार्टी सकेसम्म गठबन्धनकै रुपमा निर्वाचनको प्रतिस्पर्धामा जानेछ ।’
माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठबन्धन दलका शिर्ष नेताबीच सहमती भएको बताए । उनले एमसीसी सम्झौंता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढने जानकारी दिए । सत्तारुढ दलले कार्य दल बनाएर छलफल गरेको र प्रमुख प्रतिपक्ष दल एमालेसँग निरन्तर छलफल अघि बढाएको पौडेलले बताए ।

प्रतिक्रिया