शुक्लाफाँटामा बाघ संख्या दोब्बर गर्ने लक्ष्य

नेपालखोज २०७८ फागुन १ गते १२:०६

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउन सर्वेक्षण कार्य सुरु गरिएको हो ।

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्वेक्षण कार्य थालनी भएको छ । निकुञ्ज कार्यालयका अनुसार उक्त क्षेत्रलाई बाघ सर्वेक्षणको लागि २ किलो मिटर लम्बाइ तथा २ किलोमिटर चौडाइ भएका २ सय ६० वडा ग्रीडमा विभाजन गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बाघको फोटो खिच्नका लागि स्वचालित क्यामेराबाट सर्वेक्षण गर्न लागिएको बताए ।

तीन सातामा बाघ गणना सम्पन्न हुनेछ । बाघ सर्वेक्षणका लागि कुल ५ सय २० थान क्यामेरा, ७० जना प्राविधिक र ५ ओटा हात्ती परिचालन गरिने निकुञ्ज कार्यालयले जानकारी दिएकाे छ । शुक्लाफाँटामा सन् २००९ देखि बाघ गणना हुँदै आएको छ । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्‍याउने सरकारको लक्ष्यअनुरूप शुक्लाफाँटामा समेत बाघको संख्या दोब्बर गर्ने लक्ष्य राखिएको छ ।

शनिवार उक्त कार्यक्रम शुभारम्भ गर्न कञ्चनपुर पुगेका वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले बाघ सर्वेक्षण कार्यक्रमले देशभर बाघको संख्या पत्ता लाग्ने बताए । संख्यापछि जैविक विविधतामा पर्ने असर लगायतका महत्वपूर्ण कुरा सर्वेक्षणबाट थाहा हुने यादवले बताए ।

निकुञ्जमा यसअघि गरिएको राष्ट्रिय सर्वेक्षण अनुसार १६ वटा बाघ भेटिएका थिए ।

प्रतिक्रिया