संसद्‌मा दर्ता भयो प्रधान्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव

नेपालखोज २०७८ फागुन १ गते १२:११

काठमाडौं । संसद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको संसद सचिवालयले पुष्टि गरेको छ ।

संघीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले पनि उक्त प्रस्ताव दर्ता भएको सञ्चारकर्मीलाई जनाएका छन् । उनले प्रस्तावक तीन र समर्थक ९५ जना रहेको महाअभियोग प्रस्ताव आज (आइतबार) बिहान ११ बजेर १० मिनेटको समयमा प्रस्ताव दर्ता भएको जनाएका छन् ।

सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदले महाअभियोग प्रस्ताव संसद्‌मा दर्ता गराएको जनाइएको छ । नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र एकीकृत समाजवादी पार्टीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावकमा रहेका छन् ।

केही महिनाअघि मन्त्रीमण्डलमा भागबन्डा खोजेको भन्ने विषयमा प्रधानन्याधीश राणा मुछिएका थिए । सर्वोच्च अदातलका न्यायाधीशहरूले नै लामो समय इजलास बहिष्कार गरेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका छन् ।

नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा र उनीमाथि महाअभियोग लगाउन माग गर्दै अझै पनि आन्दोलन गरिरहेको छ । तर प्रधानन्यायाधीश राणा राजीनामा नदिने अडानमा छन् । उनले बरु आफू महाअभियोगको सामना गर्न तयार रहेको जनाउँदै आएका थिए ।

प्रतिक्रिया