पराजित प्रतिगमनकारी प्रवृत्ति चुप लागेर बसेको छैन : प्रचण्ड

नेपालखोज २०७८ फागुन १ गते १५:२८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताएका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २७ औँ जनयुद्ध दिवसको अवसरमा अध्यक्ष दाहालले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको बताए ।

प्रचण्डले गठबन्धनलाई टुटाउन र निर्वाचन प्रक्रियालाई बिथोल्नको निम्ति अनेक खालका प्रपञ्चहरु भइरहेकोसमेत बताए । अध्यक्ष दाहालले गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरुलाई अघि सारेको बताउँदै सोही मान्यताका आधारमा गठबन्धन अघि बढ्नुपर्ने स्पष्ट पारे । अध्यक्ष दाहालले भने, ‘क्रान्ति र प्रतिक्रान्तिको लडाईंमा अन्तिममा कसले जित्छ भन्ने प्रक्रियाभित्र अन्तिम टुंगो अझै लागेको छैन । पराजित प्रतिगमनकारी प्रवृत्ति चुप लागेर बसेको छैन । उसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइरहेको छ र त्यसलाई मलजल गर्ने देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरु सक्रिय छन् ।’

अध्यक्ष दाहालले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षामा एकमत भएर गठबन्धन बनेको बताए । कुनै एउटा खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा गठबन्धन नबनेको स्पष्ट उनले पारे । उनले कुनै देश विशेषसँग गरेका सहमति, सम्झौंता वा परियोजना, आर्थिक सहयोगको लेनदेन र त्यसको आधारमा गठबन्धन नबनेको बताए । नेपालको संविधान, नोपलको लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि लड्नुपर्ने उनले बताए ।

अध्यक्ष दाहालले कसैले एउटा परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यो ऐतिहासिक धरातल भत्काए सरह हुने बताए । उनले भने, ‘कुनै एउटा खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा यो गठबन्धन गरिएको होइन । आज यदी कसैले कुनै एउटा परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्य बारे सोच्छ भने त्यो हाम्रो ऐतिहासिक धरातल भत्काउने जस्तै हुन्छ ।’

अध्यक्ष दाहालले प्रदेश र केन्द्रिय सरकारले जनयुद्ध दिवस मनाउन आवश्यक रहेको बताए । उनले मधेस प्रदेशले यस वर्ष शाहसपूर्वक जनयुद्ध दिवस मनाएको बताउँदै आउँदो दिनमा अन्य प्रदेश र केन्द्रिय सरकारले पनि यो दिवस मनाउनेमा विश्वस्त रहेको बताए । अध्यक्ष दाहालले जनयुद्ध दिवसलाई सम्मान गरेमात्रै जनताका हक अधिकार सुरक्षित रहनेसमेत बताए ।

अध्यक्ष दाहालले माओवादी घटकहरु सबैले एकपट आत्मालोचना गरेर सबै क्रान्तिकारी कम्युनिष्टहरुलाई एकतावद्ध हुन अपिलसमेत गरे ।

प्रतिक्रिया