गठबन्धन होसियार ! जुनसुकै समयमा जस्तोसुकै कदम चाल्न सक्छौं : केपी ओली

नेपालखोज २०७८ फागुन २ गते १५:०१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु न्यायाधीशलाई काउन्टर महाअभियोग ल्याउने सोच नरहेको स्पष्ट पारेका छन् । आज बसेको संसदीय दलको बैठकमा उनले एमालेले जुनसुकै समयमा जस्तो कदम चाल्न सक्ने पनि बताए ।

परिस्थितिलाई नजिकबाट नियालिरहेको एमालेले जनाएको छ । बैठकमा ओलीले कुनै पनि बेला जुनसुकै कदम चालिने प्रष्ट पारे । आवेग, उत्तेजना र प्रतिशोधका आधारमा निर्णय कहिले पनि नगर्ने स्पष्ट लाइनमा एमाले रहेको ओलीले बताए ।

सरकार, सत्ता गठबन्धन र अदालत कसरी जान्छ, हेरेर् अगाडि बढ्ने ओलीले बताए । बैठकमा सुविचारित ढंगले सडक, सदन र कानुनी मोर्चाको लडाइँ लड्ने निस्कर्षमा एमाले पुगेको हो । चुनाव हुन नदिने ढंगले यो महाअभियोग आएको आशंका पनि ओलीको छ ।

ओलीले अस्वभाविक र कृतिम रुपमा बनेको गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको बताए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको उनले बताएका हुन् ।

अध्यक्ष ओलीले नेकपा एमाले जिम्मेवार राजनीतिक पार्टी भएको भन्दै एमालेले जिम्मेवार ढंगले नै आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । बैठकमा ओलीले भने, ‘एमाले जिम्मेवार पार्टी हो । त्यसैले यसले जिम्मेवारपूर्ण कदम चाल्नुुपर्छ । आवेश र उत्तेजनामा आएर कुनै निर्णय गर्दैन ।’

एमालेलाई कमजोर बनाउन गठबन्धनले अझै षड्यन्त्रहरु गरिराख्ने भएकाले सचेत हुन जरुरी रहेको बताए । उनले एमाले गठबन्धनसँग लड्न तयार रहेको बताएका छन् । संसद्को ठूलो पार्टी भएकाले जनताको ध्यान एमालेतर्फ मोडिएकाले एमालेले जिम्मेवार बन्ने निर्णय लिएको बताइएको छ ।

प्रतिक्रिया