हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह

नेपालखोज २०७८ फागुन २ गते १९:०२

काठमाडौं । निर्जीवन बिमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनिले विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । उनले २०७८ फाल्गुन १ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

शाहले जिम्मेवारी पाउँदा एकदम हर्षित भएको प्रतिक्रिया दिए । उनले भने, ‘हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु । वास्तवमा भन्नुपर्दा हिमालयन जनरल इन्स्योरेन्सले प्रदान गर्दे आएको निर्जीवन बिमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ । यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै इतिहास बनाएको छ ।’

हिमालयन जनरल इन्स्योरेन्समा २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आएका सुशील बज्राचार्यले ६.५ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरेका थिए । उनको कार्यकालमा यस कम्पनीले निर्जीवन बिमाका ग्राहकहरुलाई पारदर्शी सेवा प्रदान गरि व्यवसायिक छविलाई बलियो बनाउँदै भविष्यको लागि बलियो आधार खडा गर्न सफल भएको थियो ।

हिमालयन जनरल इन्स्योरेन्समा आवद्ध हुनुभन्दा अघि शाह नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा आबद्ध रहेका थिए । उनले कम्पनीमा चार वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकरात्मक छवि दिएका थिए ।

हिमालयन जनरल इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले नेपाल सरकारको लक्ष्य अनुरुप निर्जीवन बिमाका ग्राहकलाई सेवा प्रदान गर्ने बताए । उनले भने, ‘बिमा क्षेत्रमा उनको राम्रो अनुभव र बुझाई छ । उनको कार्यकालमा नेपाल सरकारको लक्ष्य अनुरुप निर्जीवन बीमाका ग्राहकहरुलाई बढी भन्दा बढी सेवा प्रदान गर्दै यस उद्योगलाई नै उचाईमा पुर्‍याउन उहाँँको उल्लेखनीय योगदान रहनेछ । उनीबाट निर्जीवन बिमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बीमा क्षेत्रकै स्तरोन्नती हुनेमा संचालक समिती विश्वस्त रहेको छ ।’

प्रतिक्रिया