महाभियोग फिर्ता नलिए सरकारको कुर्सीमा बस्ने अधिकार छैन् : नागरिक समाज

काठमाडौं । स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एकहप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो ।
अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे । उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए । उनले भने, ‘प्रधानन्यायाधीशविरुद्धको आन्दोलन तत्काल फिर्ता लिइयोस्, एक हप्ताभित्र फिर्ता नलिए देशव्यापी आन्दोलनमा जानेछौं ।’
कार्यक्रममा वरिष्ठ अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपालको न्याय क्षेत्रलाई ध्वस्त बनाउने गरी भएका गतिविधिले अराजक स्थिति निम्त्याएको बताए । उनले न्याय क्षेत्रलाई बलात्कार गरिएको टिप्पणी गरे । जनताको न्यायको आशाको केन्द्र भएको न्यायालयलाई विचौलीयाले क्रिडाक्षेत्र बनाएको आरोप चन्दले लगाए । महाभियोग आफैमा गलत भएको र त्यसले सर्वोच्च अदालतको गरिमामा क्षति पुर्याउने बताए ।
वरिष्ठ अधिवक्ता डा. पृथ्वीनारायण राईले जबराविरुद्ध महाभियोग दर्ता भएको दिन फागुन १ गतेलाई कालो दिन घोषणा गर्ने बताए । न्याय क्षेत्रमा भइरहेको भ्रष्टाचारको स्वरुप परिवर्तन गरिएको टिप्पणी गरे । उनले न्यायापालिकामा भ्रष्टाचारको विरुद्धमा कथित आन्दोलन भएको तर्क गर्दै भने, ‘बारको गतिविधिको स्वरुपलाई बुझेर जनता अगाडि बढ्न थालेपछि आलोचना सहन नसकेर ४÷५ जना सिमित भएको अवस्थालाई फेरी ब्युँताएर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको छ ।’
अधिवक्ता एंव कानुन व्यवसायी आकृति रायमाझीले नेपाल बारले लगाएको सिण्डीकेट भत्काउन स्वतन्त्र नागरिकको स्थापना गरेको बताइन् । रायमाझीले परमादेशले ल्याएको सरकारले जबराविरुद्ध महाभियोग ल्याएको भन्दै आपत्ति जनाइन् ।
होम बहादुर कार्की ‘विश्वभक्त बाबा’ले कार्यक्रममा देशको काँचुली फेर्ने दिन अब आएको बताए । उनले नागरिक समाजलाई न्यायालयको न्यायको निम्ती हजारौं भक्तहरु पछाडि रहेको भन्दै अगाडि बढ्न र लड्न सुझाव दिए । चोेलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग एक हप्ता भित्र फिर्ता नलिए सरकारको कुर्सीमा बस्ने अधिकार नभएको समेत जिकिर गरे ।

प्रतिक्रिया