युक्रेन-रुस युद्धको खतरा, शक्तिशाली राष्ट्रबीच दोहोरी !

नेपालखोज २०७८ फागुन ३ गते १५:१७

मस्को । पछिल्लो समय रुसले युक्रेनमाथि आक्रमण गर्नै लागेको भनेर खबरहरू सार्वजनिक भइरहेका छन् । रुसले युक्रेनको सीमा क्षेत्रमा ठूलो संख्या सैनिक परिचालन गरेपछि पश्चिमा देशहरूले रुसलाई विभिन्न चेतावनी दिइरहेका छन् ।

यस्तै १२ वटा पश्चिम राष्ट्रले त युद्धको खतरा भएको भन्दै आफ्ना देशका नागरिकलाई स्वदेश फर्किन समेत निर्देशन दिएका छन् । अमेरिकासहित पश्चिमा देशहरूले युक्रेनमा रुसले आक्रमण गर्नै लाग्यो भनेर हल्ला फिँजाईरहँदा रुस भने चूपचाप जस्तै छ । उसले आक्रमण गर्ने आफ्नो योजना नरहेको प्रष्ट पारेको छ ।

युक्रेनसँग जोडिएका सीमा नाकामा आफ्ना करिब एक लाख ३० हजार फौज तैनाथ भइरहँदा रुसले पश्चिमा देशबाट सुरक्षाको सुनिश्चितता खोजिरहेको छ । रुसले जुनसुकै बेला पनि हमला गर्नका लागि आफ्ना फौजहरू तयारी अवस्थामा राखेको अमेरिकाले बताइरहँदा रुसले त्यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।

अब त्यहाँ हुने घटनाक्रमले युरोपको समग्र सुरक्षा संरचनालाई जोखिममा पार्न सक्छ । युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको कुरामा रुस अडिग रहिआएको छ । रुसी गुप्तचर निकायका प्रमुख सर्गेई नरिस्किनले अमेरिकाले फैलाइरहेको खबर खतरनाक झूट् भएको भन्दै निन्दा गरेका छन् । तर रुसले सन् २०१४ मा युक्रेनमाथि अतिक्रमण गरेको र उसको भूमि आफूमा गाभेको पृष्ठभूमिमा त्यो धम्कीलाई गम्भीर रूपमा लिइँदै छ ।

उत्तर एट्लान्टिक सन्धि संगठन नेटोका महासचिवले द्वन्द्वको जोखिम वास्तविक रहेको चेतावनी दिएका छन्।् । रुसले जतिबेला पनि अतिक्रमण गर्नसक्ने अमेरिकाले बताउँदै आएको छ । यद्यपि त्यसबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले के निर्णय गरेका छन् भन्नेबारे केही थाहा छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडनका उच्च सैन्यअधिकारी जेनरल मार्क मिलीले रुसी फौजको हमलाले ठूलो स्तरमा हताहती निम्त्याउन सक्ने र सहरी क्षेत्रमा डरलाग्दो लडाइँ हुन सक्ने चेतावनी दिएका छन् ।युक्रेनी राष्ट्रपतिले त्रास नफैलाउन पश्चिमा देशहरूलाई अपिल गरेका छन्। रुसले रुसले युक्रेनी सीमानजिक अनुमानित एक लाख फौज तैनाथ गरेको छ । सीमादेखि एक हजार ८४ किलोमिटर टाढा बेलारुसमा ३० हजार रुसी सैनिक अभ्यासरत छन्।

रुसले लामो समयदेखि नेटो र युरोपेली संघप्रति युक्रेनी कदमको विरोध गर्दै आएको छ । उसको अहिलेको मुख्य माग भनेको युक्रेन नेटोमा आबद्ध नहुने कुराको सुनिश्चितता पश्चिमा देशहरूले गर्नुपर्ने रहेको छ । हुन त युक्रेनी सीमा ईयू र रुस दुवैसँग जोडिएको छ । तर पूर्वसोभियत गणतन्त्रसँग उसको गहिरो सामाजिक तथा सांस्कृतिक सम्बन्ध छ ।

राष्ट्रपति पुटिनका अनुसार युक्रेन नेटोमा आबद्ध भयो भने उक्त गठबन्धनले क्राइमियामाथि पुनः नियन्त्रण कायम गर्ने प्रयास गर्न सक्छ । रुसलाई समर्थन गर्ने तत्कालीन राष्ट्रपति सन् २०१४ को सुरुतिर पदच्युत भएपछि मस्कोले क्राइमियालाई आफूमा गाभेको थियो ।
नेटोले युक्रेनमा अस्त्रहरू पठाइरहेको र रुसी विकासलाई रोक्न अमेरिकाले तनाव बढाइरहेको मस्कोको आरोप छ ।

नेटो सन् १९९७ अघिका सीमामा फर्कियोस् भन्ने रुस चाहन्छ । नेटो पूर्वतर्फ नबढ्न नहुने र पूर्वी युरोपमा उसका गतिविधि बन्द हुनुपर्ने उसको माग छ । त्यसको अर्थ पोल्यान्ड तथा इस्टोनिया, लाट्भिआ र लुथिआनियाबाट कम्ब्याट एकाइहरू हटून् अनि पोल्यान्ड र रोमानियाजस्ता देशमा क्षेप्यास्त्र तैनाथ नगरियोस् भन्ने हो ।

अमेरिकी राष्ट्रपति बाइडन र फ्रेन्च राष्ट्रपति एम्यानुअल माक्रोँसँग भएका कैयौँ वार्तामा पुटिनले आफू तनावको स्रोत नबन्ने प्रतिबद्धता जनाएका छन् । सीमापार चालिने जुनसुकै कदम नयाँ आक्रमण सरह हुने ह्वाइट हाउसले बताउने गरेको छ ।तर रुसले साइबर हमला र अर्धसैनिक रणनीतिहरूलगायत अरू अस्त्रहरू आफूसँग रहेको संकेत गर्ने गरेको छ ।

गत जनअरीमा ७० वटा युक्रेनी सरकारी वेबसाइटहरू नचल्दा साइबर हमलामा आफ्नो हात रहेको रुसले अस्वीकार गरेको थियो । सम्भावित सहमतिले पूर्वी युक्रेन युद्ध र बृहत् सुरक्षा मुद्दा दुवैलाई समेट्नुपर्ने हुन्छ ।सन् २०१४ र २०१५ को मिन्स्क शान्ति सम्झौताहरूलाई ब्युँताउने विषयमा रुस, युक्रेन, फ्रान्स र जर्मनी सम्मिलित वार्ताहरूबाट अहिलेसम्म निष्कर्ष निस्कन सकेको छैन । सम्झौताका शर्तहरूलाई लिएर युक्रेन खुशी छैन । उसलाई लाग्छ त्यसबाट रुस र पृथकतावादीहरूको हात माथि परेको छ ।

प्रतिक्रिया