एमालेले सहयोग नगर्दा एमसीसी अघि बढ्न सकेन : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । संसदीय दलको बैठकले नेकपा एमालेले संसद् अवरोध कायम राखेका कारण एमसीसीको एजेण्ड अघि नबढ्ने निष्कर्ष निकालेको हो ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने स्पष्ट पारेको छ । माओवादी एमालेका कारण एमसीसी अनुमोदन हुन नसकेको निष्कर्षमा पुगेको हो ।
माओवादीले एमसीसीलाई समर्थन गर्ने रणनीति अघि बढाइरहेको समयमा एमालेले संसद् बैठक अवरोध गर्ने चेतावनी दिइसकेको थियो । माओवादीले एमालेले पनि साथ दिए सरकार र प्रतिपक्ष मिलेर एमसीसी पास गर्नुपर्ने लाइनमा थियो । माओवादीले एमालेलाई बैठक चल्न दिन र एमसीसी अनुमोदन गर्नका लागि सहयोग गर्न यसअघि नै आग्रह गरिसकेको थियो । तर , एमालेले १४ सांसद्लाई कारबाही नभएसम्म अवरोध जारी राख्ने स्पष्ट पारिसकेको थियो ।
संसदीय दलको बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको बताए ।

प्रतिक्रिया