प्रचण्ड-देउवा छलफल : एमसीसी आज टेबल नगरौं, एमालेलाई पनि मनाएर पास गरौं

नेपालखोज २०७८ फागुन ४ गते १३:०१

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल नगर्न सत्तारुढ गठबन्धनमा सहमति जुटेको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा एमसीसी टेबल नगर्ने सहमति भएको हो ।

एमसीसीमा देश विभाजित भएकाले राष्ट्रिय सहमति बनाएर एमसीसी अनुमोदन गर्नुपर्ने माओवादी केन्द्रको माग छ । प्रधानमन्त्री शेरबहादुर देउवा भने एमसीसी जबरजस्ती संसद्मा लैजाने मुडमा थिए । तर, सत्ता गठबन्धनको बैठक भोलि बसेर एमसीसीबारे ठोस निर्णय लिने बुझिएको छ ।

नेकपा एमालेले आज पनि संसद् अवरोध गर्ने जनाएको छ । एमसीसीबारे छलफल गर्न विहीबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने जनाइएको छ ।

आजै बसेको नेकपा माओवादी केन्द्रको बैठकले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको थियो । संसदीय दलको बैठकले नेकपा एमालेले संसद् अवरोध कायम राखेका कारण एमसीसीको एजेण्ड अघि नबढ्ने निष्कर्ष निकालेको हो ।

संशोधन बिना एमसीसी पास गर्न नहुने माग अत्याधिक सांसद्बाट आएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठ्यारोमा परेका हुन् । प्रचण्डलाई सांसद्हरुले सरकारले एमसीसी जबरजस्ती प्रस्ताव गरे सरकारबाट बाहिरिनुपर्ने सुझाव दिएका थिए ।

प्रचण्ड पनि नेकपा एमालेले संसद्को गतिरोध अन्त्य नगरेसम्म एमसीसी टेबल गर्न नहुने पक्षमा देखिएका छन् ।

प्रतिक्रिया