आइतबार, जेठ ५, २०८२

एनएमबी बैंक र रेमिट हाइड्रोबीच परियोजना लगानी समझदारीपत्रमा हस्ताक्षर

नेपालखोज २०७८ फागुन ४ गते १३:१५

काठमाडौं । एनएमबी बैंक लिमिटेड र रेमिट हाइड्रो लि.बीच ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्सा खोला जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जनताको जलविद्युत कार्यक्रममा समावेश भएको घुन्सा खोला जलविद्युत् आयोजना रेमिट हाइड्रो लि. द्वारा प्रवद्र्घित आयोजना हो । रेमिट हाइड्रो लि.को मुख्य लगानीकर्ता हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लि. तथा रेमिट्यान्सकर्ताहरूको लगानी रहनेछ । एनएमबी बैंकले समझदारीपत्रमा हस्ताक्षरपश्चात अन्य बैंक तथा वित्तीय संस्थालाई समेत सामेल गराई सह–वित्तीयकरण गठन गरी आयोजनाको वित्तीय व्यवस्थापन गर्ने जानकारी दिएको छ । घुन्सा खोला जलविद्युत् आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रहनेछ । एनएमबी बैंकले हालसम्म ४६ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी वातावरण तथा सामाजिक सुरक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०२२ अनुसार एनएमबी बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।

एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चारपटक नेपालकैं उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ । बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया