केपी ओलीसहितका एमाले नेता भ्रष्टाचारी भन्दै कारबाही गर्न अख्तियारमा उजुरी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा हुँदा केपी शर्मा ओली भ्रष्टचारमा लागेको आरोपसहित छानबिनको माग गरेको हो ।
ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग अनेरास्ववियुले गरेको हो । उजुरीम भनिएको छ, ‘झापा जिल्ला स्थित गिरीबन्धु टी–स्टेटको नाममा विर्तामोड र अर्जनधारामा गरी ३०० विगाहा भन्दा बढी जग्गा रहेको र उक्त गिरीबन्धु टी स्टेट संचालन गर्न नसक्दा हदबन्दी भन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा रहेको सरकारले अरबौं सम्पत्ति लिने खाने नियतले गिरीबन्ध टी–स्टेटको अरबौं मुल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरी नीतिगत भ्रष्ट्राचार भए गरेको हुँदा तत्कालिन प्रधानमन्त्री केपी शमा ओली, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पध्मा आर्याल लगायत भ्रष्ट्राचारमा संलग्न व्यक्तिहरुलाई कारवाही गरीपाउँ ।’
यस्तै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि ओम्नीसँगको अनियमितता प्रकरणमा मुछिएकाले निजहरुमाथि छानविन गरी भ्रष्टाचारमा कारबाही गर्न माग गरिएको छ । यस्तै भिजिट नेपाल २०२० को नाममा राज्यकोषको करोडौं रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईमाथि पनि छानबिनको माग गरिएको छ ।
उजुरी दिन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितका नेता कार्यकर्त अख्तियार पुगेका थिए ।

प्रतिक्रिया