‘ऊर्जा उत्पादन तथा विद्युत् व्यापार सहजीकरण गर्न बेलायत सरकार तयार’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनिहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ ।
नेपालको ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्न जलासययुक्त आयोजना प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको उनले बताइन् । मन्त्री भुसालले बुढीगण्डी, दूधकोशी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताइन् । नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, इ–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टूरिजम्को प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरिन् ।
महासागरका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र ग्लोबल वार्मिङलाई नियन्त्रण गर्नका लागि हिमालयको महत्वपूर्ण भूमिका रहने स्मरण भुसालले गराइन्ग । उनले भनिन्, ‘हामी हिमालय क्षेत्रको संरक्षणका लागि अन्तराष्ट्रिय सहयोगको अपेक्षा गर्दछौँ ।’
जलविद्युत स्वच्छ ऊर्जा भएकाले यसको प्रवद्र्धनका लागि नेपाल सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिएको उनले बताइन् । बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै मन्त्री भुसालले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्वपूर्ण सहयोग गरेको स्मरण गरिन् ।
राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गरिन् । ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने उनको दाबी छ । नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत व्यापार सहजीकरण गर्न बेलायत सरकार तयार रहेको उनले बताइन् ।

प्रतिक्रिया