भक्तपुरमा विपत् पीडितका लागि राहत निर्देशिका पारित

भक्तपुर । भक्तपुर नगरपालिकाको ११औं नगरसभाको बिहिवार बसेको बैठकले विपत् पीडितका लागि राहत निर्देशिका, २०७८ सर्वसम्मतिले पारित गरेको छ ।
नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले नगर क्षेत्रभित्र बसोबास गर्नेलाई प्राकृतिक तथा मानव सिर्जित विपतका कारण मानवीय तथा धनसम्पत्तिको क्षति भई पीडित भएकालाई राहत दिने उद्देश्यले उक्त निर्देशिका ल्याइएको हो ।
निर्देशिकामा विपत् पीडित परिवारलाई विपद्को प्रकृतिअनुसार भौतिक र मानवीय क्षति तथा अङ्गभङ्ग भएमा क्षतिको अवस्था हेरी बढीमा रु एक लाखसम्म राहत दिन सकिने र पीडित परिवारलाई प्रमुखले क्षतिको अवस्था हेरी रु २५ हजारसम्म दिन सकिने व्यवस्था रहेको छ ।
बैठकमा सदस्यहरुको स्वास्थ्यसम्बन्धी जिज्ञासाको जवाफमा नगरप्रमुख प्रजापतिले ख्वप अस्पताललाई १०० शैय्या क्षमताको स्वीकृति प्रदान गर्न आवश्यक पहल भइरहेको र अस्पतालले जनतालाई स्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य बोकेको बताए ।
बैठकको विशेष समयमा सदस्यले बिग्रेका सडक बत्तीको मर्मत सम्भार गर्नुपर्ने, हनुमन्ते खोला सुधारमा विशेष ध्यान दिनुपर्ने, भक्तपुरलाई दिइने रासायनिक मलको मात्रा वृद्धि गर्नुपर्ने, नयाँ बस्तीमा खानेपानीको उचित व्यवस्थापन हुनुपर्ने, अनुदानको कृषि सामग्रीमा कृषकको पहुँचका लागि आवश्यक पहल गर्नुपर्ने, देको मिवा इतापाके जग्गा एकीकरण आयोजना यथाशीघ्र सम्पन्न गर्नुपर्ने, विना स्वीकृति सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थालाई कानुनी दायरामा ल्याउनुपर्ने, खानेपानीको स्रोत बढाउनेतर्फ ध्यान दिनुपर्ने, कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्नेलगायतका धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया