एमसीसीबारे जुटेन गठबन्धनमा सहमति, अब के गर्लान् देउवा ?

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एमसीसीबारे साझा धारणा बनाउन सकेको छैन । आज बसैको बैठक पनि फेरि बस्ने भनेर बिना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गरेका हौं । त्यसमा उहाँ सहमत हुनुभयो ।’
बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अलग्गै बैठक भएको थियो ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपा अध्यक्ष यादव उपस्थित थिए । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर केही दिनदेखि गठबन्धनको बैठक बस्दै आएको छ । तर कुनै सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया