‘निकाय बनाएर हाइड्रोजन ऊर्जा उत्पादन गर्न सुझाव’

काठमाडौं । विद्युतीय ऊर्जा उपयोग गरेर हाइड्रोजन ऊर्जा उत्पादन विद्युतको माग र आपूर्तिमा सन्तुलन कायम गर्ने विषयमा अध्ययन गर्न गठित समीतिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल समक्ष प्रतिवेदन पेस गरेको छ । जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले आज मन्त्री भुसाललाई प्रतिवेदन पेस गरेका हुन् ।
नेपालले हरित हाइड्रोजन नियमन कानुनी ढाँचा तयार गरेर अगाडि बढ्न पनि सुझाव दिइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘पहिले विशिष्ट नीति, रणनीति र मार्ग चित्र बनाउने, विद्यमान सान्दर्भिक कानुनमा आवश्यक परिवर्तन गर्ने र हाइड्रोजनमा विशेष कानुन लागु हुने संरचना तयार गर्नुपर्छ ।’
नवीकरणीय ऊर्जाको स्रोतका रूपमा जलविद्युतबाट हरित हाइड्रोजन उत्पादन गरी प्रयोगमा ल्याउन मन्त्रालयले गत मङ्सिर १ गते जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिवको नेतृत्वमा सात सदस्यीय अध्ययन समिति गठन गरेको थियो । प्रतिवेदनमा छुट्टै निकाय गठन गरेर हाइड्रोजन ऊर्जा उत्पादन गर्न पनि सुझाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘निजी क्षेत्रले लिने व्यापारिक चासोको समग्र सुशासन र नियमनका लागि दीर्घकालिन निकायको रुपमा छुट्टै संस्था गठन गर्नुपर्छ ।’ त्यसैगरी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई सुरुआतका गतिविधि आरम्भ गर्न, नियामक ढाँचा र हाइड्रोजन उत्पादन पाइलटिङ गर्न प्रमुख भूमिका खेल्न पनि प्रस्ताव गरिएको छ ।
प्रतिवेदन ग्रहण गर्दे ऊर्जामन्त्री भुसालले सरकारले हाइड्रोजन सम्बन्धी नीति बनाउने र त्यसका लागि विज्ञसँग सुझाव लिएर अगाडि बढ्ने विश्वास दिलाइन् । उनले आगामी दिनमा देश नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्ने नीतिमा प्रतिवद्ध रहेको उल्लेख गर्दै नयाँ प्रविधिका रुपमा हाइड्रोजन ऊर्जा उत्पादन र खपत सम्बन्धमा नेपालले अग्रणी भूमिका निर्वाह गर्न सक्ने बताईन् । त्यस अवसरमा जल तथा ऊर्जा आयोगका सचिव घिमिरेले प्राप्त प्रतिवेदन हाइड्रोजन ऊर्जासम्बन्धी नीति निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया