प्रचण्ड र माधवलाई गगनले भने- चुनावपछि पनि एमसीसी राष्ट्रघाति हुन्छ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना मिलेनिय च्यालेन्ज कर्पोरेशनमा कुरा नमिले गठबन्धनसँगको सम्बन्ध टुट्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग गठबन्धनबाटै संसद्मा एमसीसी टेबुल गर्न नदिइएमा सम्बन्ध तोडिने बताएका हुन् ।
उनले गठबन्धन चल्न नसक्ने धारणा राखे । उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन । कुराकानी पनि नमिल्ने, गठबनधन पनि चलिराख्ने भन्ने हुँदैन ।’
गठबन्धनका दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलले भने एमसीसीलाई चुनावपछि बहस गर्ने भन्ने विषयमा पनि महामन्त्री थापाले प्रश्न गरे । उनले भने, ‘यो अहिले राष्ट्रघाति हो भने चुनावपछि पनि राष्ट्रघाति हुन्छ ।’
महामन्त्री थापाले संसदसँग एमसीसी पारित गर्ने वा फेल गर्ने भन्ने अधिकार रहेको भन्दै संसदबाटै निकास खोज्नुपर्ने बताए । उनले भने, ‘एमसीसी संसदमा टेबुल गरौं । बुँदा बुँदामा छलफल गरौं । दुधको दुध पानीको पानी हुनेगरी बहस गरौं । एमालेले संसद रोक्नुको अर्को कारण छ । उसले पनि एमसीसीका सन्दर्भमा आफ्नो धारणा दिनुपर्छ । जे गर्ने हो संसदबाटै गरौं ।’
अहिलेको परिस्थिति हेर्दा एमसीसीको सबै भार कांग्रेसलाई बोकाइएको पनि महामन्त्री थापाको आरोप छ । उनले भने, ‘एमसीसीको विषयमा कांग्रेससँग सफा व्यवहार भएन । एमसीसीको भारी कांग्रेसलाई बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ । एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ । हामीलाई छलछाम गरौंला भन्ने कुरा गठबन्धनको पार्टी वा प्रतिपक्षले पनि नसोचे हुन्छ । अब एमसीसीको मुद्दाको छिनोफानो नगरी कांग्रेस बस्दैन ।’

प्रतिक्रिया