बुधबार, जेठ ९, २०८१

टुँडिखेल !

सुनील उलक २०७८ फागुन ७ गते १५:१५

कुनै बेला कमलपोखरीदेखि लिएर रानीपोखरीसम्म रहेको एसियाकै ठूलो खुला मैदान आज संकुचन भएर बिस्तारै हराउन सक्ने भएको छ । कमलपोखरी रहेको ठाँउ पुरेर रंगशाला बनाइयो । वि.सं. २०१३ सालमा राजा महेन्द्रको राज्यभिषेकको अवसरमा खेलकुदको पनि आयोजना गरिने निर्णय भएपछि हतार-हतार कमलपोखरी पुरेर फुटबल मैदान बनाइयो । साथै त्यस वरपरको भाग पनि सम्याइयो । प्रतियोगितात्मक रुपमा पहिलोपटक कुस्ती, दौड, फुटबल, ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता यही रंगशालामा भएको थियो । यसको सँगैको मैदान बिस्तारै सेनाले ओगट्यो । बीचमा भद्रकाली हुदै सिंहदरबार जाने सडक पहिले नै थियो । जहाँ पछि २०१९ सालमा सहिद गेट बनाइयो । त्यसपछि खाली रहेको जमिनलाई भने हालसम्म टुँडिखेलकै नामले चिनिन्छ । यसपछि सेनाले २०१८ सालमा महांकालको पछाडी सैनिक मञ्च तयार बनायो । भने त्यसको सँगै उत्तरतर्फ फर्काइएर खुला मञ्च बनाइयो । यसरी टुँडिखेल कुँजिँदै गयो । २०२० सालमा रानीपोखरीको दक्षिणमा रानी रत्नलाई खुसी बनाउँदै राजा महेन्द्रले रत्न पार्क बनाइदिए । तीन सय वर्ष अगाडि सानेपादेखि रानीपोखरीसम्म तीन माइलको रहेको टुँडिखेल संकुचन भयो । भविष्यमा टुँडिखेल नै हराउने हो कि भन्ने लागिसक्यो ।

No description available.

मल्लकालमा नर्कट अर्थात् नेवारीमा तिं को झाडी थियो । त्यसैले यसको नाम तिंख्यो भनिन्थ्यो । भनिन्छ टुण्डी भैरवले आफ्नी छोरी अजिमाको बिहेमा दाइजो दिइएको यो ठाँउ भएको हुँदा टुण्डीख्योबाट नै टुँडिखेल नाम रहेको भनिन्छ । छोरीलाई दिइएको दाइजो भएको हुँदा केही गर्नु हुदैन भन्दै मल्लकालमा यसलाई खाली नै राखिएको थियो ।

No description available.

तस्बिरमा देखिएको दृश्य यहि टुँडिखेलको हो । तस्विरमा दायाँतर्फ ठिंग उभिएको धरहरा तथा सो सँगैको बागदरबार स्पष्ट देख्न सकिन्छ । करिब बीचमा रहेको ऐतिहासिक खरीको बोट र त्यसको सँगै जगन्नाथ मन्दिर देख्न सकिन्छ । बीचमा असंख्य सैनिकहरु परेड खेल्दै गरेको यो दृश्यको पछाडि पनि एउटा अर्को इतिहास लुकेको छ ।

प्रतिक्रिया