‘सरकार प्रेस स्वतन्त्रता संरक्षण, प्रवर्द्धन र कार्यान्वयन गर्न दृढ छ’

नेपालखोज २०७८ फागुन ७ गते ७:३७

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको संविधानले प्रेस जगतलाई पूर्ण स्वतन्त्रताको सुनिश्चित गरेको उल्लेख गर्दै वर्तमान सरकार उक्त प्रत्याभूतिलाई संरक्षण, प्रवर्द्धन र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)को ६१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले सरकार प्रेसलाई संकुचन गर्ने कुनै मनसाय नराखी स्वच्छ आलोचनालाई आत्मसात् गरेर अघि बढिरहेको उल्लेख गरेका छन्। उनले सरकार राष्ट्रियता, भौगोलिक अखण्डता, राजनीतिक स्थिरता, संविधानको रक्षा, सन्तुलित विदेश नीति, सुदृढ र सबल अर्थतन्त्र, दिगो विकास, स्वतन्त्र न्यायालय, सुशासन, मानवाधिकार र प्रेस स्वतन्त्रताका पक्षमा दृढ रहेको बताउँदै सरकारलाई मुलुकका सबै आमसञ्चारमाध्यमबाट पूर्णसहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री कार्कीले राज्यको एक मात्र समाचार समितिका रूपमा अविच्छिन्न सेवारत रही सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्दै आएको रासस समयानुकूल सशक्त र प्रभावकारी स्रोतका रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन्। उनले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्यमान्यताको संवद्र्धन र नेपालीको समृद्धिका लागि राससको आवश्यकता अझ बढ्दै गएको सन्दर्भमा संघीय सरकारबाट आवश्यक सहयोग र समन्वय हुने विश्वास दिलाएका छन् ।

मन्त्री कार्कीले स्थानीय तहको निर्वाचन मिति घोषणा भई निर्वाचन कार्यक्रम तदारूकताका साथ अघि बढिरहेको, संघीय एवम् प्रादेशिक निर्वाचनसमेतको समयावधि कम रहेको र निर्वाचन प्रक्रियामा सक्रियताका साथ भाग लिन जिम्मेवार राजनीतिक दल, आमजनता तम्तयार रहेका अवस्थामा जवाफदेही सकारात्मक, रचनात्मक समाचार सम्प्रेषण गर्न आमसञ्चारमाध्यम र सञ्चारकर्मीलाई अनुरोध गरेका छन्।

“गलत सूचना सम्प्रेषण एवम् भ्रम र अफवाह पैदा गरी मुलुकमा अस्थिरता, अन्योल सिर्जना गर्ने र देशवासीलाई विभाजित गर्ने दुष्प्रयासलाई चिर्दै सत्य, तथ्य र आधिकारिक सूचना सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउने दायित्व राससको रहेको छ । मुलुकमा विद्युतीय अनलाइन तथा टेलिभिजनका अनेकौँ सञ्जालको विस्तार भइरहेका अवस्थामा तिनलाई राज्य र जनताको आधिकारिक समाचार सामग्री उपलब्ध गराउने जिम्मेवारी पनि यसको हो”, उनले उल्लेख गरेका छन् ।

मन्त्री कार्कीले राससले निकट भविष्यमा नै श्रव्यदृश्यलगायत समाचारको एकीकृत सेवा सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै सो सम्बन्धी सामग्रीबाट देशभर सञ्चालित रेडियो र टेलिभिजन थप लाभान्वित हुने छन् भन्ने विश्वास व्यक्त गर्नुभएको छ । आफ्ना सेवाग्राही सङ्ख्यामा उल्लेख्य वृद्धि गरी उपलब्ध सम्पत्तिको अधिकतम् सदुपयोग गर्नाका साथै आम्दानीका अन्य स्रोतसमेत पहिल्याएर आफूलाई आत्मनिर्भर बनाउन रासस व्यवस्थापनलाई उनले आग्रह गरेका छन्।

मन्त्री कार्कीले समसामयिक नीति तथा कार्यक्रमका साथ सूचना प्रविधिलाई अधिकतम उपयोग गरी आफ्नो सेवालाई विविधीकरण र व्यावसायिकीकरण गर्दै अझ विश्वसनीय र भरपर्दो सञ्चारमाध्यमका रूपमा रासस स्थापित हुन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया