मनाइँदै राष्ट्रिय प्रजातन्त्र दिवस !

काठमाडौं । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
यस अवसरमा वि.सं. २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसरमा अन्य संघ-संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेष रुपमा दिवस मनाउन आह्वान गरेको छ । तीन दिनसम्म साँझ दीपावली पनि गरिनेछ । प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको थियो ।

प्रतिक्रिया