थपलियाले भने- निर्वाचनमा देखाइने कार्ड अलि खतरनाक हुन्छ, सचेत रहनुहोला

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उल्लंघन भयो भनी रेड कार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन् ।
निर्वाचन आयोगद्वारा छैटौँ निर्वाचन दिवसका अवसमा आयोजित कार्यक्रममा उनले फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्ड अलि खतर्नाक रहने भएको हुँदा त्यसलाई समयमै महसुस गर्न दल र उम्मेदवारलाई आग्रह गरे ।
प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रुपमा लिएर काम गर्न सुझाव दिँदै उनले भने, ‘तपाईले दिँदै आएको परीक्षाभन्दा यो पटकको निर्वाचनको जिम्मेवारी फरक छ, यो परीक्षामा असफल हुने छुट तपाई हामी कसैलाई छैन् ।’
आफैँ निर्देशित भएर काम गर्नुस्
निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले सबैपक्षको सहमति सुनिश्चित गर्दै समन्वय र सहकार्यको खाँचो औँल्याएकी छन् ।
त्यस्तै, निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनलाई सहजरुपमा सफल तुल्याउन सामूहिक दायित्वका रुपमा बुझेर काम गर्न आवश्यक रहेको बताए। निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले स्वच्छ, निष्पक्ष, भयमुक्त, विश्वासिलो र मितव्ययी निर्वाचन गर्ने आयोगको जिम्मेवारीलाई सबैले अवसरका रुपमा लिएर पूरा गर्नुपर्ने बताए ।
आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले निर्वाचनमा बेरुजु नआउने गरी काम गर्न र जिल्लामा निर्वाचनको वातावरण सिर्जना गर्न सुझाव दिएका छन्। निर्वाचन दिवसको मूल नारा ‘निर्वाचनमा सबै, सधैँ सँगै’ भन्ने रहेको छ ।
सो अवसरमा प्रमुुख आयुक्त थपलियाले आयोगका २० वर्ष सेवा गर्ने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने १० कर्मचारीलाई पुरस्कार घोषणा गरियो । सो अवसरमा त्यहाँ उपस्थित तीन जनालाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा निर्वाचन स्मारिकासमेत विमोचन गरिएको छ ।

प्रतिक्रिया