आर्थिक गतिविधि प्रभावित हुने अवस्था आएको महासंघको ठहर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ महामारीका तीनवटा लहरसँग जुध्दै अर्थतन्त्र सुधारोन्मुख रहेका बेला नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधि प्रभावित हुने देखिएको उल्लेख गरेको छ ।
उत्पादनमूलक उद्योगलाई कम ब्याजदरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने विषयले औद्योगीकरणमा सहयोग पुग्ने देखिए पनि नीजि क्षेत्रका अधिकांश सुझाव सम्बोधन नहुँदा व्यापार, व्यवसाय एवं लगानी प्रभावित हुने देखिएको महासंघले जनाएको छ ।
महासंघले आज आफ्नो धारणा सार्वजनिक गर्दै निक्षेपको ब्याजदर बढाउँदा बैंक, वित्तीय संस्थामा रकम बढ्न नसकेको पछिल्लो ६ महिनाको अवस्था ज्ञात हुँदाहुँदै कर्जाको ब्याजदर बढाउनेतर्फ मौद्रिक नीतिको समीक्षा केन्द्रित हुँदा पुँजीको लागत थप बढ्न गई व्यवसायी र वित्तीय संस्थामा समेत समस्या देखिने सम्भावना बढेको महासंघको भनाइ छ ।
बढ्दो आयात निरुत्साहित गर्न नीति केन्द्रित हुँदा यसले उत्पादन, मूल्यवृद्धि, राजस्व र रोजगारीमा नकारात्मक असर पर्नेतर्फ महासंघ केन्द्रीय बैंकको ध्यानाकर्षण गराएको छ । कोभिड–१९ महामारीका कारण संकटमा परेको व्यवसाय पुनरुत्थानका लागि पुर्नकर्जा, पुनर्तालिकीकरण र पुनःसंरचनामार्फत राहत दिएको केन्द्रीय बैंकले तेस्रो लहरको प्रभाव कायमै रहेका बेला पुर्नकर्जाको ब्याजदरसमेत बढाइदिँदा विशेषगरी साना तथा मझौला उद्यमी प्रभावित हुने महासंघको ठहर छ ।
मौद्रिक नीतिको समीक्षामा ट्रष्ट रिसिटलगायत आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने भन्ने उल्लेख गरिएको महासंघको भनाइ छ ।
भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्न सकिने विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने भन्ने बुँदाले पनि भारतबाट हुने आयातमा कडाइ गरिने सङ्केत गरेको स्पष्ट पारेको छ । निर्यात प्रवर्द्धन र मुलुकभित्र रकम भित्र्याउन अन्य उपाय अवलम्बन नगरी आयात घटाउने उपाय अवलम्बन गरिँदा यसले अनधिकृत व्यापार बढ्नुका साथै मूल्य अकासिने महासंघले ठहर गरेको छ ।
महासंघले भनेको छ, “करिब ४९ लाख सर्वसाधारण जोडिएको सेयर बजार कर्जामा गरिने कडाइले मुलतः साना लगानी प्रभावित हुने तर्फ महासंघ राष्ट्र बैंकको ध्यानाकर्षण गराउन चाहन्छ ।” निक्षेप नबढ्नुका साथै कर्जा निक्षेप अनुपात तोकिएभन्दा माथि रहेको अवस्थामा बैंक दरमा गरिएको दुई प्रतिशत विन्दुको वृद्धिले कर्जासमेत महंगिने उल्लेख गरेको छ ।
महासंघको सुझाव बमोजिम उत्पादन मूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउने गरी अध्ययन गर्ने भनि समीक्षामा उल्लेख हुनु स्वागत योग्य रहेको महासंघको भनाइ छ । कोभिड महामारीबाट नीजि क्षेत्रको पुनरुत्थानमा निकै सहयोगी नीति अवलम्बन गरेको केन्द्रीय बैंकले अल्पकालीन उपाय नहेरी तरलता अभावका कारण समस्याग्रस्त नीजि क्षेत्रको हितका लागि समीक्षामा लिइएका नीतिको पुनरावलोकन गरी व्यापार व्यवसाय सञ्चालन एवं विस्तारको वातावरण बनाउन महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया