सत्ता साझेदार दल सहमति : सदनमा एमसीसी पेस

नेपालखोज २०७८ फागुन ८ गते १५:१९

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता’ पेस भएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता पेस गरे । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको विरोध तथा सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, का सांसद्को असहमतिकाबीच सरकारका तर्फबाट सदनमा उक्त सम्झौता पेस भएको हो ।

संसद्‌मा प्रतिनिधित्व गर्ने दलबीच सहमति हुन नसक्दा संसद् सचिवालयमा दर्ता भए पनि सम्झौता संसद्‌मा टेबुल हुनसकेको थिएन । एमसीसी सम्झौतालाई टेबुल गर्न सत्ता साझेदार दल आज मात्रै सहमतिमा पुगेका थिए । एमसीसी सम्झौता संसद्‌मा टेबुल गर्न सत्ता गठबन्धनका दलहरुबीच सहमति भएपछि कार्यव्यवस्था समितिको बैठकले त्यसलाई अगाडि बढाउने निर्णय गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ माघ २५ गते अनुदान सम्झौता अनुमोदनका लागि संसद्‌मा पेस गर्न स्वीकृति दिएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी सम्झौता संसद्को साधारण बहुमतबाट अनुमोदन गर्न २०७६ असार ३० गते संसद्‌मा पेस गरेका थिए ।

प्रतिक्रिया