प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरुको एक स्वर- नो एमसीसी

काठमाडौं । प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरुले एमसीसी सम्झौता संसदमा पेस हुने विषयको विरोध गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरुले एमसीसी सम्झौता संसदमा पेस हुन नहुने धारणा राखेका हुन् । सांसदहरुले एमसीसी सम्झौतामा राष्ट्रहित विरोधी प्रावधानहरु भएकाले संसदमा पेस गर्न नहुने बताएका हुन् ।
बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को संसद अवरोध कायम रहुञ्जेल संसदमा महत्वपूर्ण एजेण्डामाथि छलफल हुन नसक्ने बताए । उनले एमसीसी सम्झौतामा राष्ट्रिय स्वाधिनतालाई प्रतिकुल पार्ने प्रावधान भएकाले संशोधन बिना प्रक्रिया अगाडी बढाउनु नहुने बताए ।
सन्धी ऐन, संविधानको व्यवस्था अनुसार पनि सम्झौता संसदमा पेस गर्न नमिल्ने उनको भनाई छ । उनले माओवादी केन्द्रले एमसीसी सम्झौता संसदमा पेस गर्ने प्रक्रियामा असहमती राखेको पनि बताए ।
नेकपा (एमाले)का सांसद भीम रावलले एमसीसी सम्झौता संसदमा पेस हुनु नेपाली जनता र संसदको अपमान हुनु भएको बताए । प्रतिपक्ष दलले संसद अवरोध गरिरहेको र सत्तारुढ दलहरुका बीचमा समेत सहमती नजुटेको अवस्थामा पेस हुनु आपत्तिजनक भएको उनले उल्लेख गरे ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी अधिकारीहरुको धम्कीका कारण सभामा एमसीसी पेस हुन लागेको बताए । नेपाल अमेरिकी धम्कीमा चल्नु नहुने उनले बताए । एमसीसी परियोजना सहायता नभई अमेरिकी लगानी भएको उनले दाबी गरे । उनले नेपाली कांग्रेसले सम्झौता पारित गराउन लागेको भन्दै आपत्ति प्रकट गरे । एमसीसी सम्झौता संसदबाट अगाडी बढाउनु नहुने उनले उल्लेख गरे ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले एमसीसी सम्झौता संसदमा पेस गर्न नहुने बताएकी छन् । अन्य विदेशी सहयोगहरु संसदबाट पारित नगर्ने गरिएको भन्दै उनले एमसीसी पनि संसदबाट पारित गर्नु आवश्यक नभएको बताइन् । देशको सार्वभौमिकता पैसासँग साट्न नसकिने उनको भनाई छ ।
प्रमुख प्रतिपक्ष नेकपा(एमाले)को अवरोध र सांसदहरुको बिरोधका बिच आजको प्रतिनिधि सभा बैठकमा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता सभामा पेस गरेका छन् ।

प्रतिक्रिया