‘मतदान गर्नबाट कोही नागरिक नछुटून भन्नेमा सचेत छौं’

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटून भन्नेमा सचेत रहेको बताएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले कोही पनि मतदाता निर्वाचनमा मतदान गर्न नछुटून भन्नेमा सचेत रहेको बताएका हुन् ।उनले सबै मतदान स्थलह रु अपांगमैत्री हुने गरी आवश्यक नीतिगत व्यवस्था गरिएको र त्यो भए/नभएको परीक्षण गर्नका लागि अनुगमन गर्ने व्यवस्था पनि गरिएको बताए ।
नेपाल अपांग महिला संघका पदाधिकारीहरुसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी स्थानीय तहको निर्वाचनको मतदान केन्द्रमा ज्येष्ठ नागरिकलाई सहज हुने व्यवस्था गर्ने, सुत्केरी तथा गर्भवती महिलाहरुका लागि पनि विशेष व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस अवसरमा नेपाल अपांग महिला संघका पदाधिकारीहरुले सबै मतदान केन्द्र अपांगमैंत्री हुने गरी आवश्यक व्यवस्था मिलाउन माग गरेको थियो । निर्वाचन आयोगसँग अपांगमैत्री मतदान केन्द्र र उनीहरुको प्रतिनिधित्व सबै स्थानीय तहमा सुनिश्चित हुने गरी आगामी निर्वाचनमा आवश्यक व्यवस्था मिलाउन माग गरिएको संघकी अध्यक्ष टीका दाहालले जानकारी दिइन् । संघले अपांगता भएका व्यक्तिहरुका लागि सहज हुने खालको निर्वाचनसम्बन्धि सामग्रीहरु बनाउन पनि आयोगको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया