‘ए’ डिभिजन लिग : मनाङलाई हराउँदै एनआरटी दोस्रो स्थानमा उक्लियो

नेपालखोज २०७८ फागुन ८ गते २०:१८

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले मनाङलाई १–० ले हराउँदै तालिका दोस्रो स्थानमा उक्लिएको हो ।

निकै रोमाञ्चक भएको खेलमा २६औं मिनेटमा मेसुके ओलुमोउले गरेको गोलबाट एनआरटीले तीन अंक जोडेर अंक तालिकामा सुधार गरेको हो । यससँगै मनाङले पछिल्ला तीन खेलमा दोस्रो हार भोगेको छ । यस अघि एपिएफसँग ३–१ ले पराजित भएको मनाङले ११औं चरणको खेलमा थ्री स्टारसँग १–१ गोलको बराबरी खेलेको थियो ।

दोस्रो स्थानमा रहिरहन जित्नै पर्ने दबाबका साथ मैदान उत्रिएको मनाङले धेरै पटक पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा एनआरटीलाई अंक सुम्पिन बाध्य भएको हो । यस्तै एनआरटीले पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्दै रोमाञ्चक जित निकालेको हो । हारसँगै मनाङ तालिकाको तेस्रो स्थानमा झरेको छ । यससँगै जारी लिगमा शीर्ष तीनमा अटाउने टोलीबीच होड रोमाञ्चक बनेको छ ।

बलियो मनाङविरुद्ध रोमाञ्चक जित निकालेको एनआरटीले १२ खेलमा २० अंक जोडेको छ । यस्तै समान २० अंक जोडेको मनाङ तेस्रो स्थानमा झरेको हो । लिग अन्तर्गत आज नै भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पालाई २–१ हराउँदै यस सिजनको रेलिगेशन संकट टारेको छ ।

जावलाखेललाई जित दिलाउन रुपबहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गर्दा हिमालयनका अमृत श्रेष्ठले एक गोल गर्दै अन्तर घटाएका थिए । रोमान्चक बनेको खेलको १५औं मिनेटमा रुपले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा नतिजा सुम्पिएको हिमालयनले ७१औं मिनेटमा अमृतको गोलबाट खेल बराबरी अवस्थामा ल्याएको थियो ।

त्यसपछि खेल सकिन दुई मिनेट बाँकी रहेको अवस्थामा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जित गर्दै टोलीलाई रेलिगेशन संघारबाट बचाए । जितबाट जावलाखेलले १२ खेलमा १३ अंक जोडेको छ । जावलाखेल नवौं स्थानमा रहेको छ । हिमालयनले १२ खेलमा १३ अंक जोडेको छ । हिमालयन १०औं स्थानमा रहेको छ ।

प्रतिक्रिया