उपत्यकासहित देशका धेरै स्थानमा वर्षा, चिसोबाट बच्न आग्रह

नेपालखोज २०७८ फागुन ८ गते २०:५०

काठमाडौं । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली गराउनुका साथै काठमाडौं उपत्यकालगायत देशका कतिपय भेगमा वर्षा भइरहेको छ ।

अहिले देशको उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ साथै तराईमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो ताप्लेजुङ, ओखलढुङ्गा, पोखरालगायत स्थानमा वर्षा भएको छ । पोखरामा असिना पानीसहित वर्षा भएको छ । पोखरामा सबैभन्दा बढी १९ मिलिमिटर वर्षा भएको छ । वर्षाले पोखराको हवाई उडान पनि प्रभावित बनेको छ । बुद्ध एयरले तीन उडान रद्द गर्नुपरेको जनाएको छ ।

काठमाडौं उपत्यकामा आकास गड्याङ गुडुङसहित पूर्ण बदली भएको छ । बदली र वर्षाले बढी चिसो महसुस गरिएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भेगका केही स्थानमा स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि पनि देशको पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया