विश्वकप छनोट : नेपालले आज क्यानडाको सामना गर्दै

नेपालखोज २०७८ फागुन ९ गते ६:५९

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा नेपालले आज क्यानडाको सामना गर्दैछ ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ । नेपाल र क्यानडाबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो ।

नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । २ खेलमा २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ । क्यानाडामाथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यस्तै फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

प्रतिक्रिया