प्रचण्ड मख्ख : माओवादी प्रवेश गर्नेको लहर चलेको दाबी

नेपालखोज २०७८ फागुन ९ गते १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र प्रवेश गर्नेको लहर चलेको बताएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसका दर्जनौं कार्यकर्तालाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी केन्द्रमा फर्किनेको लहर चलेको बताएका हुन् ।

विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको प्रचण्डले दाबी गरे । उनले भने भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ ।’

नव प्रवेशीलाई अध्यक्ष दाहालले एक कार्यक्रममा अबिर र खादा लगाई पार्टीमा स्वागत गरे । उनीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने उनको दाबी छ । यसरी प्रवेश गर्नेहरूमा नेकपा एमालेमा रहेका रौतहट जिल्ला मौलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् । त्यसैगरी सुदूरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्ट लगायत माओवादीमा प्रवेश गरेका थिए ।

अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक फेरि फैलिएको उल्लेख गरे । मधेशमा मात्रै नभइ देशैभर माओवादीप्रति जनताको नयाँ उभार देखिएको उनको भनाइ छ।

प्रतिक्रिया