सोमबार, वैशाख १५, २०८२

‘धर्मसापेक्ष राष्ट्र कायम गरी पाउँ भन्दै सर्वोच्च अदालतमा रिट’

नेपालखोज २०७८ फागुन ९ गते १७:५२

काठमाडौं । अधिवक्ता आचार्य तुलसीराम पोख्रेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गरी पाउँ भनि सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।पत्रकार सम्मेलन गर्दै आज पोख्रेलले सनातन व्यवस्थाको बारेमा संविधान आँफैमा बाझिएको र अस्पष्टता भएकोले स्पष्ट व्याख्या गरी पाउँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिए ।

नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको पनि उनले स्पष्ट पारे । संविधानमा धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको उनको गुनासो छ । उनले भने, ‘संविधानमा निरपेक्षता र सापेक्षताको व्याख्या पनि छैन् तर मान्दै आएको सनातन संस्कृति भनिएको छ । यो भनेको वैदिक सनातन संस्कति हो ।’

आफूले वैदिक सनातन संस्कृति र निरपेक्षताको बिचमा बाझिएको छ भनेर सर्वोच्चमा रिट निवेदन दिएको र उक्त रिट आगामी फागुन १२ गतेका लागि पेसीमा चढेको पनि उनले जानकारी दिए । उनले भने, ‘यसको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुन्छ । अदालतमा संविधानको भावनाअनुरुप निवेदन हालेको छु ।’

हिन्दु वैदिक सनातन संस्कृतिलाई नै संविधानले मानेको उनले ठोकुवा गरे । पोख्रेलले भने, ‘संविधानमा धर्मनिरपेक्षता लेखिएको छ र सनातन संस्कृतिको बारेमा पनि व्याख्या गरिएको छ । नेपालको संविधानको धारा ४ को उपधारा १ अन्तर्गतको स्पष्टीकरणको खण्डमा धर्मनिरपेक्षता भन्नाले सनातन चलिआएको धर्म, संस्कृति संरक्षण गर्ने उल्लेख गरिएको छ ।’

प्रतिक्रिया