अहिले मैले गरिरहेको काम ट्रेलर मात्रै हो एक साताभित्र फिल्म देख्नुहुन्छ : प्रेम आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेविरुद्ध एकसाता भित्र कारबाहि गर्ने बताएका छन् ।अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा आज नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वलाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम चाल्न लागेको जानकारी दिए ।
उनले देशलाई ठग्नेका विरुद्धमा आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साता भित्र पुरा फिल्म देखिने गरी काम गर्ने बताए । उनले भने, ‘जतिपनि मैले कामको थालनी गरेको छु । मातृभुमिलाई साक्षि राखेर म भन्न चाहान्छु, विभिन्न तत्वले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु । अहिले मैले गरिरहेको काम ट्रेलर मात्रै हो ट्रेलर अब तपाईहरु एक साताभित्र पुरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु ।’
विगतका सरकारले गरेका फोहोरका डंगर हटाउन आफु लागिपरिरहेको उनले बताए । उनले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफुले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गरे । बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको उनले प्रष्ट पारे । आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको आलेले बताए । उनले भने, ‘मैले देश र जनताप्रति उत्तरदायी हुनेगरी जनताको शिर निहुरिने गरी मैले कहिल्यै काम गरेको छैन । यहाँहरुलाई थाहा छ, पाँच महिना मेरो कार्यकाल पुरा हुँदैछ । बतासदेखि लिएर ठुला पाँच तारेसम्मले अहिलेसम्म राज्यको कर तिरेको छैन । राज्यको कर तिर्नुपर्छ भनेर मैले पटक पटक ताकेता गर्दाखेरी पनि सुनुवाई भएन ।’
विगतको सरकारका पालामा भएका विकृति, फोहोरको डङ्गुरहरु हटाउनको लागि म लागिराखेको छु । त्यो अहिले बाहिर ल्याउने काम भएको छ । म मगरको छोरो हो । भाषा, संस्कृति ममा कमि होला, तर मेरो आत्मा पवित्र छ । मन्त्री आलेले आफुमा जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमि भएपनि आत्मा पवित्र रहेको बताए ।

प्रतिक्रिया