‘एमसीसी संसदबाट पारित गराउन अमेरिकाले दवाव दिएको छैन’

नेपालखोज २०७८ फागुन ९ गते १९:०५

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट पारित गराउन अमेरिकाले दवाव नदिएको स्पष्ट पारेका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता महतले एमसीसी सम्झौंता संसदबाट पारित गराउन सरकारलाई कुनै पनि प्रकारको दवाव नआएको बताएका हुन् ।

आज काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अमेरिकी सरकारले सम्झौंताको छिनोफानो गरिदिन भने नेपाल सरकारलाई आग्रह गरेको बताए । प्रवक्ता महतले एमसीसी सम्झौंताबारे आवश्यक निर्णय लिन नेपाल आफैं सक्षम रहेको दाबी समेत गरे ।

उनले नेपालको स्वार्थ र हित अनुकूल हुने कुनै पनि प्रकारको प्रस्ताव स्विकार गर्न नेपाल सरकार तयार रहेको पनि बताए । प्रवक्ता महतले एमसीसी नेपालको हितमा रहेको उल्लेख गर्दै संसदबाट पारित हुने विश्वास व्यक्त गरे ।

प्रवक्ता महतले चीनसँग सम्झौता गरिएको विआरआई परियोजना विस्तृत अध्ययन गरेर अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे । सो अवसरमा उनले चीन सरकारले प्रस्ताव गरेको सो परियोजना आफू परराष्ट्रमन्त्री हुँदा स्विकार गरेको स्मरण पनि गराए । प्रवक्ता महतले राष्ट्रको हितमा हुने कुनै पनि प्रकारको सम्झौंता स्विकार गरेर नेपाल सरकार अघि बढने पटकपटक दोहोर्‍याए ।

प्रतिक्रिया