शुक्रबार, जेठ ४, २०८१

ब्रिगेड ब्वाइज ‘ए’ डिभिजन लिगबाट घटुवा हुने दोस्रो टोली

नेपालखोज २०७८ फागुन ९ गते १९:३७

काठमाडौं । यसै सिजन बढुवा भएको टोली सातदोबाटो युथ क्लबसँग ३–२ ले पराजित भएसँगै ब्रिगेड ब्वाइज सहिद स्मारक ए डिभिजन लिगबाट घटुवा हुने दोस्रो टोली भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको खेलमा हार भोग्दा ब्रिगेड ब्वाइज रेलिगेशनमा पर्ने पक्का भएको हो ।

यस अघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ । यस अघि २०६३ र ६८ सालमा ब्रिगेड रेलिगेसनमा परेको थियो । सातदोबाटोलाई जित दिलाउन सुशील राई, दिपकराज सिंह ठकुरी र निरज चौधरीले एकरएक गोल गर्दा ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको १३औं मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तीन मिनेट पछि बेर्टराण्डले गोल गर्दै ब्रिगेडलाई १–१ गोलको स्थितिमा ल्याए । १८औं मिनेटमा दिपकले गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए । मार्टिन्स अजयीको हेडर पासमा दुई डिफेन्डर र गोलकिपर गुरप्रित सिंहलाई बिट गर्दै उनले सहज गोल गरेका थिए ।

खेलको ५१औं मिनेटमा रोशनले गोल गर्दै ब्रिगेडलाई २–२ गोलको बराबरीमा ल्याएपछि रोमाञ्चक भएको खेलमा ८७औं मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई ३–२ को जित दिलाए । सुदिप गुरुङको पासमा निरजले उत्कृष्ट गोल गर्दा सातदोबाटोले रोमाञ्चक जित निकाल्यो ।

सातदोबाटोसँगको हारसँगै ब्रिगेडले १२ खेलमा ७ अंक जोडेको छ । ब्रिगेड पुछारबाट दोस्रो स्थानमा रहेको छ । सातदोबाटोले १२ खेलमा १८ अंक जोडेको छ । सातदोबाटो पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया