देउवा-ओली एक भए सभामुख हट्ने डरले प्रचण्ड एमसीसीको पक्षमा उभिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी अगाडि बढाउने पक्षमा थिए । सत्ता गठबन्धनका शिर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादवलाई राखेर एमसीसीबारे निर्णय गर्न देउवाले दबाब दिए ।
देउवाले संसदमा टेबल गर्नेसम्ममा सहमत हुन आग्रह गरे । प्रचण्ड सभामुख अग्निप्रसाद सापकोटाले समेत आफूले भनेको नमान्ने बताइरहेका थिए । माधव नेपाल पनि यथास्थितिमा एमसीसी पारित गर्न नसकिने भनिरहेका थिए । उपेन्द्र यादव समेत यही लाइनमा देखिन थाले । देउवा उनीहरुको फेरिएको चरित्र देखेर रिसाए ।
सत्ता गठबन्धनको बैठक सकिएलगत्तै उनी पत्नी आरजु देउवालाई लिएर बालकोट पुगे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे । ओलीले केही सर्तहरु राखे । देउवा कतिपयमा सहमत भए । विशेषगरी गठबन्धन पहिले टुटाउनुपर्ने र सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने सर्त थियो । त्यसपछि पार्टीमा छलफल गरेर निर्णय गर्ने कुरा गरे । एमसीसीबारे ओली स्पष्ट भएनन् । देउवा बालुवाटार फर्किए ।
देउवा हिंडेको केही मिनेटमा ओलीले पुनः फोन गरेर डाके । देउवाको गाडी फेरि मोडियो । उनी बालकोट फर्किए । ओलीले केही सर्त राखे । एमसीसी पारित गर्न साथ दिने भन्दै राजनीतिक लेनदेनको कुरा गरे ।देउवा ओलीको सर्त मान्ने मुड्मा पुगे । उनले अन्तिम छलफल गठबन्धनमा गर्ने मात्र भनेर फर्किए ।
भोलिपल्ट सत्ता गठबन्धनको बैठक बस्यो । देउवा जसरी पनि एमसीसी अगाडि बढाउने मुडमा पुगिसकेका थिए । उनले कम्तिमा एमसीसी टेबल गर्न र मतदानको निर्णय जे हुन्छ हुन्छ भन्नेमा पुगे । प्रचण्ड टेबल गर्ने पक्षमा पनि सकारात्मक भए । माधव नेपालले लचिलो बन्ने गरी टेबलको पक्ष लिए । उपेन्द्र यादवको लाइन पनि त्यही भयो । ८ फागुनमा एमसीसी टेबल गर्ने गरी सहमति गरे । एमसीसी टेबल पनि भयो । अब १२ गतेको बैठकमा अनुमोदनको प्रक्रिया अघि बढ्छ ।
सत्ता गठबन्धन टुट्नबाट जोगियो । देउवा एमसीसी टेबल पनि गर्न नमान्ने प्रचण्डको अडान रहेको भए गठबन्धन तोडेर ओलीसँग भद्र सहमति बनाउने गरी बढिसकेका थिए । तर, एमसीसी टेबल गर्ने सहमतिले गठबन्धनको दुर्घटना टरेको थियो । प्रचण्ड एक्लै चुनावमा जान डराएकोले गठबन्धन जोगाउनु पर्ने लाइनमा स्पष्ट छन् ।

प्रतिक्रिया